मधेश

जसपा कार्यकारिणी बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग

सुभाष कर्ण |
मंसिर ८, २०७८ बुधबार १२:५६ बजे

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकमा प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । दुई दिनदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई अपमानपूर्वक भन्दै कार्यकारिणी सदस्यहरूले राउतको राजीनामा माग गरेको बैठकमा सहभागी एक नेताले इकागजलाई जानकारी दिए ।

नाम नबताउने शर्तमा ती नेताले भने 'रायको पक्षमा बोल्दै पूर्वराजपा र पूर्व नयाँ शक्तिका नेताहरूले मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै अध्यक्ष यादवविरूद्ध खनिएका थिए । बैठकबारे जानकारी दिँदै रायले आफुलाई मन्त्री पदबाट पदमुक्त गर्दा एकलौटी रुपमा गर्न नहुने भनी सदस्यहरूले आलोचना गरेको बताए ।


पदमुक्त गरिएका रायले आफूलाई हटाउन पार्टीको कुनै निकायले निर्णय गर्नुपर्नेमा सोझै अपमानपूर्ण ढंगले बिनाकारण हटाउनु खेदजनक रहेको विषय बैठकमा आफुले कुरा राखेको बताए । डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले पार्टीको कुनै निकायमा छलफल नै नगरी मन्त्रीलाई हटाउनु तानाशाही रहेको भन्दै पार्टीमा छलफल नै नगरी मनपरी ढंगले काम गर्ने अधिकार कसैलाई नरहेको आलोचना गरेकी थिइन । पूर्व नयाँ शक्ति र पूर्वराजपाका नेताहरूले अख्तियारबाट भ्रष्टाचारी प्रमाणित भइरहेका मुख्यमन्त्रीलाई कारबाही गर्नुको सट्टा पार्टीभित्र कुनै छलफल नै नगरी अन्य मन्त्रीलाई हटाउनु गलत रहेको कुरा बैठकमा उठेको ती स्रोतले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भ्रष्टाचार भएको ठहर गरिसकेको छ । यस्तो अवस्थामा मुख्यमन्त्री राउतले राजीनामा दिएनन् भने पार्टीको प्रतिष्ठा जानेछ भन्‍नेतर्फ बैठकमा नेतृत्ववर्गलाई सचेत गराएको थियो । 

उनका अनुसार मुख्यमन्त्री राउतले नेकपा (एस)लाई सरकारमा ल्याउने बाध्यकारी अवस्थामा मन्त्री रायलाई राजीनामा दिएर सहज बनाइदिन आग्रह गर्दा पनि नमानेपछि हटाउनु परेको कुरा राखेका थिए । बैठकमा कार्यकारिणी समितिमा १२ जनालाई थप्‍ने निर्णयसहित १६ जनालाई कार्यकारिणी समितिमा थप गर्नुपर्ने भएपनि हाललाई ४ जनाको स्थान रिक्त राखिने बैठकमा सहमति भएको नेता राजकिशोर यादवले बताए  । 

यसका साथै पार्टी केन्द्रीय कार्यसमिति विधान र पद्धति अनुसार दुई अध्यक्षीय प्रणालीको कुरा उठेको तर त्यस सम्बन्ध आज दिउँसो बस्‍ने बैठकमा निर्णय हुने कार्यकारिणी सदस्य एवं सामाजिक विकास मन्त्री नवलकिशोर यादवले जानकारी दिएका छन् । बैठकमा पूर्व मन्त्री राजकिशोर यादव, मुख्यमन्त्री लालबाबु राउत, नवराज सुवेदी, गंगा श्रेष्ठ, अमृता अग्रहरी, गजाधर यादवलगायतले आ-आफ्ना धारणा व्यक्त राखेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x