मधेश

प्रदेश २ मा पनि खोप अभियान सुरु

आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो खोप

सुभाष कर्ण |
माघ १४, २०७७ बुधबार १३:१२ बजे

जनकपुरधाम : देशका विभिन्‍न स्थानसहित प्रदेश २ मा पनि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार धनुषाको जनकपुरधाम, पर्साको विरगञ्‍ज र सप्तरीको राजविराजबाट एकैसाथ खोप अभियान सुरु भएको हो ।

जनकपुरधाममा प्रादेशिक अस्पताल, विरगंजमा नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालबाट खोप अभियान सुरु भएको छ । प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले खोप लगाएर अभियानको सुरुवात गरेका छन् । 


खोपप्रति जनविश्वास बढोस् भन्‍ने हेतुले कोभिड संक्रमित भइसकेका मन्त्री यादवले प्रदेशमा पहिलो खोप लगाएर सुरुवात गरेका हुन् । खोप लगाएपछि मन्त्री यादवले शरीरमा कुनै असर नदेखिएको बताए । आम नागरिकलाई खोप दिने जिम्मा संघीय सरकारको भए पनि संघीय सरकार त्यसबाट पन्छिए प्रदेश सरकारले नै खोपको व्यवस्था गर्ने उनको भनाइ छ । 

विरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा समाजिक विकास मन्त्री नवलकिशोर साहको आतिथ्यमा खोप अभियान सुरु भएको छ ।

कानुन मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोभिडविरुद्धको खोप लगाएका छन् भने बाँकी चिकित्सक, स्वास्थयकर्मी, सरसफाईकर्मीहरू, शववाहन चालकले खाेप लिन सुरु गरेका छन् । त्यस्तै विरगञ्जमा नर्स हेमा थापा र राजविराजमा स्टाफ नर्स सुनिता यादवले पहिलो खोप लगाएकी छन् ।

पहिलो चरणमा प्रदेशका धनुषा, पर्सा र सप्तरीसहितका तीन जिल्लाबाट खोपको सुरुवात गरिएको भन्दै मन्त्री यादवले प्रत्येक जिल्लाबाट खोप दिइने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिए । प्रादेशिक अस्पतालमा पहिलो चरणमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी र शववाहन चालकसहितका २२५ जनालाई दिइने छ भने त्यसपछि जिल्लाका अन्य स्वास्थ्य संस्था, निजी अस्पतालका स्वास्थ्यकर्मीहरूलाई दिइने अस्पलतालका मेसु डा. प्रमोद यादवले जानकारी दिए ।

कोभिड अस्पतालका प्रमुख एवं राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. जामुन सिंहले खोप उत्कृष्ट र पूर्ण सुरक्षित रहेको बताए । डा. सिंहले कुनै पहिलो चरणमा यो खोप बालबालिका र गर्भवती महिलालगायतलाई नदिइने जानकारी दिए । 

यसरी दिइने छ खोप
पहिलो चरणको लागि प्रदेशमा ३४ हजार ८ सय ४ डोज कोरोना भ्याक्सिन आएकोमा हालसम्म ३१ हजार भन्दा बढीको नाम संकलन गरिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए । पहिलो चरणमा भ्याक्सिन लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरूको नाम दर्ता गरिएको छ । 

सरकारी अस्पतालका ११ हजार ७ सय ३७ र निजी अस्पतालका ११ हजार ३ सय ३४ जनाको नाम दर्ता गरिएको छ । त्यस्तै ७ हजार २७ महिला स्वयंसेवीका र १ हजार २ सय ४ जना सरसफाईकर्मीको नाम खोप लिनेको नाम दर्ता गरिएको झाले बताए ।

प्रदेश सरकारले सबभन्दा बढी धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाउने बताइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x