बागमती

जिल्ला समन्वय समिति मकवानपुरको चुनाव असार २ गते

सरिता दाहाल |
जेठ २७, २०७९ शुक्रबार २१:१ बजे

मकवानपुर - जिल्ला समन्वय समिति मकवानपुर (जिसस) को निर्वाचन असार २ गते बिहीबार हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जिसस मकवानपुरको निर्वाचन तालिका शुक्रबार सार्वजनिक गर्दै निर्वाचन असार २ गते हुने जनाएकाे छ ।

निर्वाचनको मिति तय गर्न शुक्रबार अपराह्न बसेको सर्वदलीय बैठकपश्चात निर्वाचन अधिकृतको तालिका सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयद्वारा सार्वजनिक निर्वाचन तालिका अनुसार जेठ २८ गते मतदाताको नामावली सार्वजनिक गरिने भएकाे छ ।


अन्तिम मतदाता नामावली जेठ ३० गते प्रकाशन गरिनेछ भने सोही दिन उम्मेदवारकाे मनाेनयन दर्ता गरिने छ । जेठ ३१ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ भने असार १ गते उम्मेदवारलालाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए ।

असार २ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान कार्यक्रमलाई लागि समय तय गरिएको तालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडा २ लाई मतदान केन्द्र तोकिएको छ । मकवानपुरका १० वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको सदस्यकाे निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित ७ सदस्यको लागि मतदान हुन्छ । मकवानपुरमा ९ जना प्रतिनिधिसहित नेपाली कांग्रेस प्रथम स्थानमा रहेको छ । उसले जिल्लाको ५ स्थानीय तहको प्रमुख तथा ४ स्थानीय तहमा उपप्रमुख जितेको थियो ।

त्यस्तै, नेकपा माओवादी केन्द्र मतदाताको हिसाबले दोस्रो स्थानमा रहेको छ । माओवादीको २ प्रमुख तथा ५ उपप्रमुख गरी कूल ७ जना मतदाता रहेका छन् । त्यस्तै नेकपा एमालेको २ प्रमुख र १ उपप्रमुख गरी ३ जना मतदाता रहेका छन् ।

नेकपा एकीकृत समाजवादीको भने एक जना प्रमुख मात्रै मतदाताको रुपमा रहेको छ । जिसस नेतृत्वको लागि कांग्रेस र माओवादी केन्द्रले दावी गरिरहेका छन् ।


Author

थप समाचार
x