बागमती

मयुरधाप औद्योगिक क्षेत्र निर्माण चाँडै थालिने उद्योग मन्त्री बडूको आश्वासन

सरिता दाहाल |
साउन १२, २०७९ बिहीबार १८:० बजे

मकवानपुर । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बागमती प्रदेशको राजधानी हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्र निर्माण कार्य चाँडै थालिने आश्वासन दिएका छन् । मन्त्री बडूले आज वैकल्पिक औद्योगिक क्षेत्र निर्माण स्थलको अनुगमन गर्दै यस्तो बताएका हुन ।

मकवानपुरको हेटौंडा–१४ मा निर्माण गर्न लागिएको मयुरधाप औद्योगिक क्षेत्रमा चाँडै निर्माण कार्य सम्पन्न गरीने र काठमाडौंका उद्योगलाई यहाँ विस्थापन गर्न सकिने उद्योगमन्त्री बडुले बताए । १ वर्ष अघि नै वातावरणीय प्रभाव मुल्याङ्कनपछि निर्माण कार्य थालिने तयारी भएको भए पनि उक्त स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्न पर्सा वन्यजन्तु आरक्षले अनुमति नदिएपछि काम अघि बढ्न सकेको छैन ।


उनले उद्योग व्यवसायको अवस्था र समस्या बारे स्थानीयस्तरमा पुगी जानकारी लिनु पर्ने पनि बताए । स्थानीय स्तरसम्म पुग्दा यो क्षेत्रको समस्यालाई प्रभावकारी ढंगले समाधान गर्न सहज हुने उनले बताए । हाल देशको अर्थतन्त्र सहज नभएको, आयातमा निर्भरता बढ्नुका साथै निर्यातको अपेक्षा पूरा गर्न नसकिएकोले व्यापार घाटा बढेको उनले बताए ।

मुलुकको राष्ट्रिय उत्पादन र निर्यातजन्य उत्पादन बढाउन आवश्यक रहेको त्यसका लागि नीति निर्माण गरेको, सरकारले चलाएका १० वटा औद्योगिक क्षेत्र पूर्ण रुपमा सञ्चालन हुन नसकेको, औद्योगिक क्षेत्रमा जमिन ओगटेर उद्योग सञ्चालन नगरेकाको हकमा निर्णायक समाधान खोजिने उनले बताए ।

अवलोकन टोलीमा नेपाली कांग्रेस मकवानपुर जिल्लाको जिल्ला सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिका १४ का वडा अध्यक्ष दिपक खड्का, उपमहानगरपालिकाको उपप्रमुख राजेश बानियाँलगायतको उपस्थिति थियो ।

आजै मन्त्री बडुले मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको भेटमा राष्ट्रिय उत्पादन बढाउन चलिरहेका उद्योगहरु पूर्ण क्षमतामा चालाउनु पर्ने बताए । बिराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग जस्ता उद्योगहरु पुनः संचालनमा ल्याउनु पर्ने र नया“ उद्योगहरु स्थापना गर्नुपर्ने उनले बताए । हेटौंडा कपडा उद्योग पुनः संचालन गर्न बजेट विनियोजन भइसकेको र निजी क्षेत्रले संचालन गर्न चाहेमा प्रक्रिया प्रारम्भ गरिने उनले बताए ।

बिदेशी मुद्रा सञ्चिति र व्यापार घाटा घटाउन उद्योगहरुको साठी प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने, सुनसरीमा ६५० बिगा र सुदुरपश्चिमको हरैयामा ३२० बिगा जमिन उद्योग स्थापनाको लागि छुट्याइएको, औद्योगिक क्षेत्र नै निजी क्षेत्रले चलाउन चाहे भाडामा उपलब्ध गराउन सकिने उनले बताए । 

उनले नापतौल कार्यालय हेटौंडामा स्थापना गर्न काठमाडौं गएपछि तुरुन्तै लाग्ने आश्वमस समेत दिए । “झन्झट घटाउन उद्योग दर्ताको लागि एकल विन्दु सेवा केन्द्रको अवधारणामा मन्त्रालयले तयारी गरेको छ” उनले भने “सिमेन्ट, क्लिंकर र फुटवेयरमा देश आत्मनिर्भर भइसकेको छ, दैलेखको पेट्रोलियम पदार्थ निकाल्दा लागतभन्दा उत्पादन धेरै हुने देखिए उत्पादन शुरु गरिनेछ ।” विजुली उत्पादन गरी एलपीजी ग्याँस खपत घटाउन सकिने र आरक्षको समस्या हटाएर मयुरधाप विस्तारित औद्योगिक क्षेत्र सञ्चालन गरिने उनले बताए । 

मउवासंघको कार्यक्रममा संघका पूर्व अध्यक्ष जिवनकाजि माकजु श्रेष्ठ, भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र उज्वल चौलागाई, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिव राजाराम कार्की, नेपाली का“ग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुली, हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक बसन्त कुमार पाण्डे, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतम, मकवानपुर चेम्बर अफ कमर्शका अध्यक्ष माधव न्यौपाने सहभागिता रहेको थियो ।
 


Author

थप समाचार
x