बागमती

मेयर शाहले प्रधानमन्त्रीलाई भने - संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भयो, कानुनी अड्चन फुकाइदिनुस्

इकागज |
पुस २, २०८० सोमबार १३:५ बजे

फाइल तस्बिर

काठमाडौँ - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छन् । 

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए । उनले उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताए । उनले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे । उनले काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न आग्रह गरे । 


उनले भने, ‘काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दुई वटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपालिका हुन् । काठमाडौं एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन । काठमाडौं उपत्यका बाहिरका मानिसहरूलाई काठमाडौं उपत्यका एउटै हो जस्तो लाग्छ । ललितपुर आएपनि काठमाडौं जस्तो लाग्छ, काठमाडौं गएपनि ललितपुर जस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ । कोही पहिलो, दोस्रो, तेस्रो भन्दा पनि एकैपटक सबै पालिकाहरु अघि बढ्नुपर्छ । त्यो बढ्न, मेयर, उपमेयर बसेर छलफल गर्दा पनि सक्छौँ तर केही कुराहरू संघीय कानुन र स्थानीय कानुनमा बाझिएका छन् । जस्तै फोहोर व्यवस्थापन बञ्चरे डाँडामा गर्दै आएका छौँ । त्यसलाई स्थानीय सरकार आफैंले गर्ने कुरालाई बाधा अड्चन परेको छ, कानुनी बाधा अड्चन फुकाइदिनुहुन सम्माननीयज्युलाई आग्रह र अनुरोध गरेँ । जसकारण उपत्यकाको फोहोर व्यवस्थापन ५ होइन, ५० होइन सयौं वर्षका लागि दीर्घकालीन होस् भन्ने चाहना छ । काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ, एकदिन सबै फुक्छ । कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीय ज्युले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ । ५ मिनेटदेखि एक घण्टामा मात्रै सकिन्छ । त्यो मेयरहरुले मात्रै सक्दैन । ललितपुरसँगै काठमाडौं पनि बराबर उज्यालो होस् । हामीले गर्ने काम हाम्रो कर्तव्य हो । त्यसैअनुसार बुझ्नुपर्छ ।’

प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए । 


Author

थप समाचार
x