गण्डकी

जनता आवास कार्यक्रम : दुई सय ८६ घर निर्माण

इकागज |
साउन २१, २०७९ शनिबार २१:५३ बजे

फाइल तस्बिर

तनहुँ- जनता आवास कार्यक्रमअन्र्तगत तनहुँमा दुई सय ४६ घर निर्माण गरिएको छ । आर्थिक अवस्थाले विपन्न र घर बनाउन नसक्ने व्यक्तिको घर निर्माण गरेको हो । जिल्लाका १० वटै पालिकामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिइन् । 

आर्थिक वर्ष २०७५/७६ मा सङ्घ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भई आएपछि पूर्वाधार विकास कार्यालयले घर निर्माण थालेको उनले बताइन् । निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी एक सय ४२ घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु एक करोड ५७ लाख बजेट विनियोजन गरिएको छ । 


दुई भवन निर्माण सम्पन्न 

पूर्वाधार विकास कार्यालयले सम्झौता भएका दुईवटै भवनको निर्माण सम्पन्न गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँको भवन रु दुई करोड ३० लाख ५१ हजारको लागतमा सम्पन्न गरेको हो । विसं २०७७ असोज १ गते सम्झौता गरिएको उक्त भवनको विसं २०७८ फागुन ३० गते निर्माण सम्पन्न गरेको हो ।

त्यसैगरी भिमाद सामुदायिक भवनको रु एक करोड ३३ लाख ६३ हजारको लागतमा निर्माण सम्पन्न गरिएको छ । स्टकचर थप गर्नुपरेका कारण सम्झौताभन्दा बढी लागत वृद्वि हुन गएको इञ्जिनियर मिश्रले बताइन् । 

दुई झोलुङ्गे पुल निर्माण सम्पन्न 

जिल्लामा निर्माणाधीन तीनवटा झोलुङ्गे पुलमध्ये दुई पुलको निर्माण सम्पन्न भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ मा रु ७७ लाख ७१ हजारको लागतमा उक्त पुल निर्माण गरिएको हो । जिल्लाको भानु नगरपालिका-३ खहरेबाट नारायणचौर गोरखा जोड्ने पुल रु एक करोड २६ लाख ५० हजारको लागतमा सम्पन्न गरिएको छ । उक्त पुल निर्माण पश्चात सयौँ मानिस लाभान्वित भएको बताइएको छ । 

त्यसैगरी व्यास नगरपालिका-५ र १० जोड्ने मादी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माणका लागि विसं २०७६ पुस ६ गते सम्झौता भए पनि विद्युत्को हाइटेन्सन सार्ने विषयमा विवाद हुँदा पुल निर्माणमा ढिलाइ हुन गएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए ।

अहिले विद्युत् पोल सार्नका लागि जग्गा दिने सहमति भएपछि निर्माणकार्य तीव्र गतिमा अघि बढाइएको उनले बताए ।   


Author

थप समाचार
x