गण्डकी

कास्कीमा आयल निगमको नेपालकै दोस्रो ठूलो डिपोको शिलान्यास

इकागज |
कात्तिक २८, २०७७ शुक्रबार १७:७ बजे

पोखरा : नेपाल आयल निगम (एनओसी)ले कास्कीमा नेपालकै दोस्रो ठुलो पेट्रोलियम डिपो बनाउने भएको छ । पोखरा-२९ गगनगौंडामा आफ्नै स्वामित्वमा रहेको ७७ रोपनी जग्गामा निगमले डिपो बनाउन लागेको हो । हाल रहेको डिपोको क्षमता विस्तार गरेर डिपो बनाउन लागिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बिहीबार डिपोको भण्डारणगृहको शिलान्यास गरेका छन् ।
 
अमलेखगञ्जपछि नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह बनाउन लागिएको नेपाल आयल निगम पोखराका प्रमुख प्रशुराम अधिकारीले जानकारी दिए । अहिले त्यहाँ सञ्चालित डिपोमा २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ । आपूर्तिमा कुनै अवरोध नभएको खण्डमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्‍ने सक्ने क्षमता डिपोको हुने उनले बताए । तर नयाँ डिपो निर्माण भएपछि भने प्रदेशमा डिजेलको भण्डारण ३० दिनलाई पुग्‍ने हुने अधिकारीले बताए ।
 
‘आयल निगमको आफ्नै बजेटमा डिपो निर्माण गर्न लागेका हौं,’ अधिकारीले भने,‘२ वर्षभित्र निर्माण सम्पन्‍न गर्ने गरी अगाडि बढाइएको योजना ७७ करोड रुपैयाँ लागतको हो ।’ डिपोको प्राविधिक अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले गरेको हो । निर्माणको ठेक्का समानान्तर रेलिगेय र भारत ट्यांक्स जेभीलाई दिइएको अधिकारीले जनाए ।
 
डिपोमा ५० लाख लिटर क्षमताका २ वटा ‘अटोमेटेड अफ’ हुने प्रविधिका ट्यांकी बन्‍नेछन् । ५ वटा पम्पसहित जर्मन प्रविधिमा बन्‍ने डिपोबाट २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्यांकरले दैनिक डिजेल लोड अनलोड गर्न सकिने जनाइएको छ । अहिले गण्डकी प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लिटर पेट्रेलियम पदार्थको खपत हुनुका साथै एक दिनमा ३ लाख २५ हजार लिटर डिजेल र १ लाख ४२ हजार लिटर पेट्रोल बिक्री हुने गरेको छ ।



Author

थप समाचार
x