गण्डकी

काज फिर्ता भएनन् पोखराका स्वास्थ्य कर्मचारी

धनबहादुर गुरुङ |
साउन १५, २०८० सोमबार २१:४१ बजे

पोखरा- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालेको छ । मन्त्रालयले असार २५ गते नै मन्त्रालय मातहतका सबै निकाय, सातै प्रदेश र सबै स्थानीय तहलाई दरबन्दी भएका ठाउँमा फर्कन सूचना जारी गरेको थियो । साउन १ गतेदेखि नै साविककै कार्यालयमा फर्कन गरेको सूचना नमानेपछि साउन ८ गते पुनः मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।

स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता गर्न लागेको हो । सोही अनुसार पोखरा महानगरमा पनि केही स्वास्थ्यका कर्मचारी दरबन्दी अनुसारको काजमा जानुपर्ने देखिएको छ ।


पोखरा महानगरको स्वास्थ्य महाशाखामा ३ सय ३४ स्वास्थ्यकर्मी छन् । उनीहरू महानगरका ३३ वटै वडामा खटिएका छन् । यीमध्ये केही कोरोना र अन्य समयमा महानगरलाई आवश्यक परेको समयमा विभिन्न स्वास्थ्य संस्थाबाट आएर काम गरिरहेका छन् । साउन ८ गते मन्त्रालयले गरेको पत्राचारको बेवास्ता गर्दै पोखरा महानगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखामा कार्यरत कर्मचारी अझै काजमा फर्किएका छैनन् । पोखरामा ५७ जना कर्मचारी स्वास्थ्य महाशाखाबाट टाढिने छन् । जसमा ३७ जना कामकाज गर्न आएको, ११ जना पदस्थापन भएर पनि नगएका र ९ जना दरबन्दीभन्दा बढी तर काममा बसेका स्वास्थ्यका कर्मचारी रहेको स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले बताए ।

उनीहरूलाई असार २३ गतेको महानगरको २० औं कार्यपालिका बैठकले नै दरबन्दी रहेको स्थानमा पदस्थापन गर्न आदेश दिइसकिएको महानगरका सूचना अधिकारी किरणप्रसाद कोइरालाले जानकारी दिए । सो समयमा ५७ जना यकिन गरेर प्रक्रिया अघि बढाएको उनले सुनाए ।

कार्यपालिकाको बैठक अनुसार दरबन्दी खुला गर्ने र भएका स्वास्थ्यका कर्मचारी दरबन्दी भएको ठाउँमा पठाउने निर्णय भएकोमा एउटा प्रक्रिया अघि बढेको तर अर्को रोकिएको महाशाखा प्रमुख आचार्यले बताए । ‘महानगरले निर्णय गरे अनुसार खाली भएको ठाउँमा पदपूर्ति गर्ने भनेर विज्ञापन पनि गरेको थियो,’ उनले भने, ‘विज्ञापन खुलाएर खाली भएको ठाउँमा राख्ने र कामकाज गर्न आएका लागि दरबन्दी भएको ठाउँमा पठाउने निर्णय भएको थियो । त्यसमा एउटा कार्यान्वयन भयो अर्को भएन । जसले समस्या जटिल हुँदै गएको छ ।’

काजबाट फर्कन पनि समस्या रहेको उनले बताए । पोखरा महानगरबाट रमाना बुझेर कहाँ जाने भन्ने मै अन्यौल रहेको उनको भनाइ थियो । डेँगी, झाडापखालाको समयमा कर्मचारीहरूलाई रमाना दिएर पठाउँदा महानगरमै समस्या हुने देखिन्छ । अर्कोतर्फ उनीहरूको स्थानमा अरु नै स्वास्थ्यकर्मीहरू भर्ना भइसकेको काजमा जानुपर्नेहरू बताउँछन् ।

केन्द्रको निर्देशन मान्ने हो भने पोखरा महानगरको स्वास्थ्य महाशाखा प्रमुख आचार्य आफैँ काजमा फर्कनुपर्ने हुन्छ । किनभने उनी आफैँ पनि स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशबाट महानगरमा आएका हुन् । उनीसँगै अन्य स्वास्थ्यकर्मीहरू लमजुङ, बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, गोरखा, नवलपुर, तनहुँ, सिन्धुपाल्चोकका विभिन्न पालिकामा दरबन्दी रहेर पोखरामा काम गरिरहेका छन् ।

पोखरामा काम गरिरहेका स्वास्थ्यकर्मीका स्थानमा लोकसेवाबाट कर्मचारी पदपूर्ति भइसकेको प्रमुख आचार्यले बताए । ‘सम्बन्धित तत्तत् ठाउँमा जान पनि लोकसेवा आयोगबाट परिपूर्ति भइसकेको अवस्था छ । उहाँहरू त्यहाँ जाँदा पनि धेरैले हाजिर गर्न पाउनुहुन्न,’ उनले भने, ‘अवस्था जटिल हुँदैछ । उनीहरू जानेबित्तिकै पोखराको स्वास्थ्य संस्थाहरूमा समस्या हुन्छ ।’ 


Author

थप समाचार
x