गण्डकी

पोखराको फिर्के खोलामाथि घरैघर

धनबहादुर गुरुङ |
भदौ ४, २०८० सोमबार २१:४६ बजे

पोखरा- पोखरा महानगरपालिका-१८, अँधेरी कुनाबाट सुरु भएको फिर्के खोला पोखरा महानगरका ८ वटा वडा हुँदै बग्छ । ती वडामा खोला अतिक्रमण गरेर संरचना बनेको विषयमा चर्चा भएको धेरै भयो । नागरिक समाजले यस विषयमा विरोध पनि जनाउँदै आएको थियो । तर, अहिलेसम्म अतिक्रमण रोक्नुभन्दा पनि विभिन्न बहानामा बढेको थियो । 

२०३२ सालमै खोलाको नक्सा तयार भए पनि कार्यान्वयनमा गएको थिएन । २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि फिर्के नाप्ने भनेर तयारी थालिएको थियो । इन्जिनियर महेन्द्र गोदार संयोजकत्वमा गठित समितिले मापदण्ड ५ मिटर कायम गर्ने गरी २०७५ सालमा गरिएको नापीले फिर्के किनारका करिब २ सय घर भत्काउनुपर्ने तथ्यांक निकालेको थियो । तर, २०७५ पुस ६ मा बसेको महानगर कार्यपालिका बैठकले फिर्के, बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर कायम गर्ने निर्णय गरेको थियो । १० मिटरभित्र कति संरचना पर्छन् भन्ने तथ्यांक चाहिँ निकालिएको छैन । ५ मिटरको प्राविधिक रिपोर्टअनुसार १ सय ९२ घरटहरा मापदण्डविपरीत थिए ।


एउटा अध्ययन सकिएको ५ वर्ष नबित्दै पोखराले पुनः अर्को अध्ययन सुरु गरेको छ । सर्वेक्षक बासुदेव पौडेलको संयोजकत्वमा गठित समितिले खोलाको पुरानो आकार र खोला बगेको बाटो खोजेको छ । यसको सुरुआत गत साउन ३ गतेदेखि सुरु भएको थियो । एक महिनामा उक्त टोलीले आइतबार काम सकेको छ । पोखरा–१७, बैदामस्थित गाईघाटबाट सुरु गरिएको सीमांकन कार्य पोखरा–१८ को अधेंरीकुनामा २ खोल्सी जोडिएको ठाउँभन्दा माथिसम्म पुगेर सकिएको सीमांकन कार्यको नेतृत्व गरेका महानगरपालिकाका सर्वेक्षक पौडेलले बताए ।

यो कामका लागि महानगरले महानगरपालिकाका सर्वेक्षक बासुदेव पौडेलको नेतृत्वमा काम गरेको थियो । आफ्नो नेतृत्वमा १८ प्राविधिक, ३ ओभरसियर, ८ कामदार, ७ नगरप्रहरी र ४ देखि ५ जना नेपाल प्रहरी दैनिक खटिएको सर्वेक्षक पौडेलले जानकारी दिए । भौगोलिक अवस्था, वर्षा, झाडी फाँड्दै नाप्नुपर्नेलगायत कारणले ढिला भएको टोली प्रमुख सर्वेक्षक पौडेलले बताए । समस्या नभएको भए अझ छिटो नापीको काम सकिने उनको भनाइ थियो । 

खोलाको वारि र पारि २ टोली बनाएर काम गरेको उनले सुनाए । पोखरा महानगरका इन्जिनियर सञ्जित प्रधानले खोलाको एक छेउ हेरेका थिए भने अर्को छेउ इन्जिनियर ईश्वर काफ्लेले हेरेका थिए । नापजाँचमा स्थानीयले बारम्बार नगरपालिकाले नापजाँच गर्ने गरेको तर काम नगरेको भन्दै केही आक्रोश पोखेको सर्वेक्षक पौडेलले बताए ।

पौडेलले सीमांकन भएको क्षेत्रमा ५ सय ८४ पिल्लर तथा २ सय ३९ चिह्न खोलाको दायाँबायाँ गाडिएको बताए । उनका अनुसार नापजाँचमा १ सय ४७ भवन मापदण्ड बाहिर निर्माण गरिएको पाइएको छ । ‘फिर्केमै बनेकामध्ये ३५ वटा संरचना पक्की घर छन् । त्यसैगरी ८७ कच्ची घर (झुप्रा) छन् जुन व्यक्तिका हुन्,’ उनले भने, ‘समाजघरहरू २५ वटा छन् ।’ अतिक्रमण गरेर निर्माण गरिएको संरचनामध्ये केहीको पूरै र केहीको आधा भाग परेको उनले बताए ।

प्रारम्भिक चरणको काम सकिए पनि प्रतिवेदन बनाएर महानगरलाई बुझाउन एक हप्ता लाग्ने उनले बताए । ‘हामीले नापीको काम आइतबार सक्यौं । सोमबार मेयर सा’वबाट धन्यवाद ज्ञापन थियो,’ उनले भने, ‘अब प्रतिवेदन लेख्न सुरु भएको छ । एक हप्तामा बुझाउने भन्ने कुरा छ । अब हेरौं के कस्तो हुन्छ ?’

नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेलले सीमांकन सकिनु खुसीको विषय भएको बताए । ‘पहिलो चरणको काम सकिएको छ । यो खुसीको कुरा हो,’ उनले भने, ‘अब कानुनी प्रक्रियाबाट खोलाको क्षेत्र निर्धारण गर्ने महानगरको जिम्मा हो ।’ यो कामका लागि नागरिक समाज साथ दिन तयार रहेको उनले बताए । 

महानगरले पहिलो चरणमा प्राकृतिक सिमाना छुट्याउने कार्य सकिएको पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए । अब दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, सम्वर्द्धन र विशेष सौन्दर्यीकरण सुरु गर्ने उनले बताए । उनका अनुसार फिर्के खोलामाथि निर्माण गरिएका अतिक्रमित संरचना हटाउन दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने छ ।

महानगरले यसलाई फिर्के करिडोरकाे रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ । सूचना निकाल्ने विषय र फिर्के खोलाको मापदण्ड कति कायम गर्ने भन्ने विषयमा छलफल चलिरहेको प्रवक्ता तिम्सिनाले बताए । 


Author

थप समाचार
x