गण्डकी

विन्ध्यवासिनी बसपार्कको जग्गा पहुँचवालाको कब्जामा, सरकार मौन

धनबहादुर गुरुङ |
भदौ २८, २०८० बिहीबार २१:२६ बजे

पोखरा - पोखरामा केही समयअघि बागलुङ बसपार्कको नामले परिचित विन्ध्यवासिनी बसपार्कको जग्गामा पहुँचवालाले प्रयोग गरेको भेटिएको छ । तर, यसमा सरकार मौन देखिएको छ । महिला उत्थान जागरण केन्द्र, पोखरा बेँसी सेवा समिति र स्थानीय मिनीबस व्यवसायी समितिले नगर विकासको जग्गा भाडामा लिएर प्रयोग गरेको देखिएको हो । 

बसपार्क व्यवस्थित बनाउन समिति बनाएर काम थालिएको थियो । पोखरा उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य तथा वडा ४ का निवर्तमान अध्यक्ष शंकरप्रसाद बास्तोलाको संयोजकत्वमा गठित समितिले यसमा काम गरेको हो । सो समितिले अध्ययन गरी प्रतिवेदन महानगरमा बुझाइसकेको छ । सुरुमा २० रोपनीभित्र बसपार्क बनेको थियो । पछि बागलुङ राजमार्ग चक्ल्याउने क्रममा २ रोपनी जमिन बाटोले ओगटेको छ । 


त्यहाँ भएको जग्गामा केहीमा बसपार्क बनेको छ । भने छेउछाउको जग्गा पहुँचवालाले प्रयोग गरिरहेको भेटिएको हो । उक्त जग्गामा केही जग्गा भाडामा लिइएको छ भने केही हडपेर बसेका प्रतिवेदनमा उल्लेख छ । ३ आना जग्गामा पोखराबेंसी मिनीबस समितिले भवन बनाएर प्रयोग गरेको छ । २०५५ सालमा पोखरा बेंसी समितिले लिए पनि पछि स्थानीय श्रृंग यातायातले उक्त भवन प्रयोग गर्दै आएको छ । २०७४ सालमा मासिक २५ हजार भाडा तिर्ने गरी पोखरा बेंसी सेवा समितिले प्रयोग गरेको छ । सम्झौता कार्यान्वयन नगरेको भन्दै वडा कार्यालयले नवीकरण सिफारिससमेत रोकिदिएको छ । नजिकै रहेको २ आना जग्गा प्रजापति पराजुलीलाई मासिक १ हजार भाडा तिर्ने गरी २ वर्षका लागि भाडामा लगाइएको थियो । 

महिला जागरण केन्द्रले २ आना २ पैसा जग्गा २०६२ सालदेखि बिनाभाडा प्रयोग गर्दै आएकोमा २०७३ पछि भने वार्षिक आम्दानीको ५० प्रतिशत नगर विकासलाई दिनुपर्ने शर्तसहित थप १० वर्षको म्याद नवीकरण गरिएको छ । उक्त जग्गामा १० वटा सटर र एउटा कोठा बनाइएको छ । समितिका संयोजक बास्तोलाले पुराना सबै सम्झौता रद्द गरी अत्याधुनिक भौतिक संरचना निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । ‘नगर विकास समितिसँग सम्झौता गरी प्रयोग गरेको जग्गाको सम्झौता तीनवटै समितिको बोर्ड बैठकबाट निर्णय रद्द गर्नुपर्छ,’ समितिका संयोजक बास्तोलाले भने, ‘कार्यालयले नै त्यहाँ अत्याधुनिक बसपार्क बनाउनुपर्छ । सटर, शौचालय, बस टिकट काउन्टर पनि भाडामा लगाउने होइन ।’

पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले बसपार्कको डिपिआर भइसकेकाले अब निर्माण प्रक्रिया अघि बढ्ने बताए । ‘डिपिआर तयार भइसक्यो । निर्माण प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘त्यसपछि सबै समस्या हल हुन्छ ।’ 
 


Author

थप समाचार
x