गण्डकी

एमाले गण्डकी अधिवेशन : पृथ्वीसुब्बा र खगराज पक्षको चर्चा

धनबहादुर गुरुङ |
असोज १४, २०८० आइतबार २२:१७ बजे

पोखरा - नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशन सोमबार सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अमरसिंह चौरमा बनाइएको मञ्चबाट सम्बोधनसहित उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रमबारे जानकारी दिन आईतबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलन भर पत्रकारहरूले नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशमा प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीका केन्द्रित प्रश्न गरिरहेका थिए । हुन पनि, एमाले गण्डकीमा गुरुङ र अधिकारीबीच धुव्रीकरण भएका समाचार आइरहन्छन् । सोही कारण पनि एमाले गण्डकीको नेतृत्व चयनमा उनीहरु बीचको गुट उपगुटको चर्चा चलिरहेको छ । 


पत्रकार सम्मेलनमा पनि गुरुङ र अधिकारीबीचको टकराव प्रष्ट देखिन्थ्यो । पत्रकार सम्मेलनमा गुरुङ सुरुदेखि नै थिए भने, अधिकारी केही ढिला गरी पुगे । ढिलो पुगेका अधिकारी गुरुङसँग नबोली नेकपा एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्टको बाँयातर्फ गएर बसे । अधिकारी पत्रकार सम्मेलनमा प्रवेश गर्दा पृथ्वीसुब्बा गुरुङ मोबाइल चलाइरहेका थिए । त्यतिबेलै प्रदेश इन्चार्ज विष्ट भने गुरुङ र अधिकारीबीच टकराव नभएको र हार्दिक सम्बन्ध भएको स्पष्टीकरण दिइरहेका थिए ।

विष्टले पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारबीच धुव्रीकरण छ भनेर सञ्चार माध्यमहरुले अनावश्यक प्रचार गरेको आरोप लगाए । ‘मलाई इन्चार्जको नाताले त्यस्तो लागिराखेको छैन । केही समय अगाडि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारीसहित लामै, घन्टौंसम्म संवाद गरेका छौं’, उनले भने, ‘मैले उहाँहरूसँग छलफल गर्दा कहीं अन्तरविरोध, नमिल्ने त्यो प्रकारको अवस्था देखेको छैन । उहाँहरूको बीचमा हार्दिकता नै देखेको छु ।’ तर, गण्डकीमा प्रतिनिधि छनोट गर्दा देखि नै गुट उपगुको छनक देखिएको एमाले कै केही नेता कार्यकर्ता बताउँछन् । 

विष्टले गण्डकीको अधिवेशनमा प्यानल बनाएर उम्मेदवारी दिन नपाइने बताएका छन् । उनले प्रतिस्पर्धा भन्दा सहमतिबाट नेतृत्व चयनको प्रयास गरिने बताए । ‘सहमति र सद्भावबाट छानिने नेतृत्व बढी अब्बल हुन्छ । हामी सहमतिको अधिकतम प्रयास गर्छौं । एकमना एकमत नेतृत्व चयन गर्न सके राम्रो सन्देश जान्छ,’ उनले भने, ‘सहमति भएन र कसैले प्रतिस्पर्धा गर्न चाहन्छ भने पार्टीले रोक्दैन । तर प्यानल खडा गरेर प्रतिस्पर्धा गर्ने छुट कसैलाई छैन ।’ उनले प्रतिस्पर्धाबाट एमाले संकटमा नपर्ने बताए । ‘कतैकतै प्रतिस्पर्धा गरेर एमाले भयंकर संकटमा परेको छ भन्ने सोंच देखिन्छ,’ उनले भने, ‘आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो ।’ 
एमालेले प्रदेश अधिवेशनमा ५० हजारभन्दा बढी कार्यकर्ता भेला पार्ने घोषणा गरेको छ । 

लुम्बिनी र बागमतीको अधिवेशन सकिएको एमालेले अन्य प्रदेशमा उद्घाटन भए पनि नेतृत्व चयन गरिसकेको छैन । सहमतिको प्रयास गरिरहेको एमालेले गण्डकीमा पनि निर्विरोध नेतृत्व चयन गर्ने दाबी छोडेको छैन । तर नेताहरु गुटअनुसार विभाजित भएर मत माग्न थालिसकेका छन् । आन्तरिक रुपमा सचिवालय गठन भएको छ भने मतको हिसाबकिताब गर्न थालिएको छ । 

गण्डकीमा नेतृत्व छान्न ९ सय ७ जना प्रतिनिधि चयन गरिसकिएको छ । ८५ मध्ये ८४ पालिकामा सर्वसम्मत प्रतिनिधि चयन भएकोमा कास्कीको रुपाले भने मतदान मार्फत प्रतिनिधि छनोट गरेको हो । २ दिन चल्ने अधिवेशनमा नेतृत्व चयन भने केही पर धकेलिने सम्भावना छ । यद्यपि १७ गतेभित्र गण्डकीले नेतृत्व पाउने दाबी अध्यक्ष नवराज शर्माले गरे । गण्डकी एमालेमा १ सय ६५ जनाको कमिटी गठन हुनेछ । अझै सानो बनाउने प्रयास गरिरहेको शर्माले बताए । ‘१५ गते बेलुका नै बन्द सत्र सुरु हुन्छ । १ दिन राख्दा पनि धेरै खर्च बढ्छ,’ उनले भने, ‘१७ गते बेलुकासम्म रिजल्ट आउने गरी काम गर्छौं ।’ 

मतदात भने मेसिनमार्फत् हुनेछ । अधिवेशनका लागि कास्कीबाट सबैभन्दा धेरै १ सय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि सहभागी हुनेछन् । अमरसिंहमा उद्घाटनपछि सभागृहमा बन्दसत्र चल्नेछ । प्रतिनिधिहरुलाई राख्न पोखराका २१ वटा होटलहरु बुक गरिसकिएको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए । उनका अनुसार अधिवेशनको उद्घाटन समारोहमा पोखराका विभिन्न ४ ठाउँबाट ¥याली निकालिन्छ । 

प्रदेशको नेतृत्व लिन प्रदेश कमिटीका हालका अध्यक्ष नवराज शर्मा, केन्द्रीय सदस्य मायानाथ अधिकारी, रामशरण बस्नेत, कृष्ण थापा राजीव पहारी लगायतको दाबी छ । 
 


Author

थप समाचार
x