गण्डकी

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व सङ्कलन

इकागज |
मंसिर १८, २०८० सोमबार २२:२ बजे

फाइल तस्बिर

म्याग्दी- गण्डकी प्रदेशका यातायात कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साढे चार महिनाको अवधिमा रु ५६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । 

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्म रु ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार तीन सय ४९ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । 


बाग्लुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा दुई वटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेका हुन् । 

मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितका अनुसार सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले रु ३१ करोड ७१ लाख ३५ हजार सात सय ८१ राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्कीले रु छ करोड ४७ लाख ३९ हजार नौ सय २६, बाग्लुङले रु चार करोड १० लाख ३२ हजार ६ सय ७०, नवलपुरबाट रु छ करोड ३४ लाख ७९ हजार ६ सय ७४, डुम्रेबाट रु चार करोड १० लाख ९१ हजार एक सय ७५ राजस्व सङ्कलन भएको छ । 

गोरखा, लमजुङ र स्याङ्जाको यातायात सेवा शाखाबाट एकमुष्ट रु चार करोड १० लाख सात हजार एक सय २३ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायत शीर्षकमा राजस्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब २४ करोड र २०७९/८० मा रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेका यातायात कार्यालयहरूले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यअनुसार नै राजस्व सङ्कलन गरेका मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुख समेत रहेका प्रवक्ता टीकाराम पौडेलले बताए । 

प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रु एक अर्ब १५ करोड राजस्व सङ्कलन गरेकामा यातायात कार्यालयहरूको योगदान करिब आधा रहेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले यातायात कार्यालयहरूको सेवालाई सरलीकरण, झन्झटरहित, सहज र प्रविधिमैत्री बनाउन जोड दिएको बताउनुभयो । 

चालु आर्थिक वर्ष सुरु भएयता पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू गर्न विसं २०७७ मा भएको निर्णय कार्यान्वयन गरिएको र बागलुङमा ११ वर्षपछि पुनः चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गरिएको मन्त्री जुग्जालीले बताए । 

सवारी साधन दर्ता र नवीकरणसम्बन्धी सेवा दिने हाम्रो कार्यालयमा फाइललाई डिजिटलाइजेसन गरेर लाइन बस्न र बिचौलियाको सहयोग लिन नपर्ने बनाइएको यातायात व्यवस्था कार्यालय कास्की सवारीका प्रमुख डिल्लीराम रिजालले बताए । 

सेवाग्राहीको अत्यधिक चाप र भीड हुने भएकाले बिहान ८ बजेदेखि नै सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा सञ्चालन गर्न र सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनमार्फत बुझाउने व्यवस्था मिलाइएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका प्रमुख जितेन्द्रजङ्ग केसीले बताए । 

दरबन्दी अनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्ने, सङ्घीय सरकार मातहतको सर्भरमा पटकपटक आइरहने समस्याका कारणले सेवाप्रवाहमा चुनौती रहेको यातायात कार्यालयका प्रमुखहरूले बताएका छन् । रासस


Author

थप समाचार
x