लुम्बिनी

बुटवलले सार्वजनिक गर्‍यो सय दिनका उपलब्धि

कर छुटदेखि शिक्षा र स्वास्थ्यमा विशेष जोड

विक्रम खड्का |
भदौ १७, २०७९ शुक्रबार २०:४७ बजे

बुटवल- स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन् ।

सय दिनका उपलब्धि सार्वजनिक गर्दै नगरप्रमुख पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको मार्गमा अघि बढाउने बताए । नगरप्रमुख पाण्डेले नगरपालिका भवनमै आफ्ना प्रतिस्पर्धी उपविजेताको कार्यकक्ष निर्माण गरेका छन् । त्यति मात्रै होइन यसअघिका जनप्रतिनिधिहरू, नगरस्तरीय राजनीतिक दलका नेताहरूको सम्पर्क कार्यालय पनि राखिएको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले सो सम्पर्क कक्षको उद्घाटन गरे ।


बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपविजेताहरूका सम्पर्क कक्ष स्थापना गरिएको नगर प्रमुख पाण्डेयले बताए । उनले सम्पर्क कक्षमा आउन र नगरसँग सम्बन्धित कार्यहरू सोही कक्षबाट गर्नका लागि पूर्व जनप्रतिनिधि, उपविजेताहरू र राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाले बुटवल ११ मा नेपाली कांग्रेसका संस्थापक स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र बुटवलका पूर्व नगर प्रमुख स्व. सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण थालिएको छ । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको सय दिन पूरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख पाण्डेयले पार्कको शिलान्यास गरे । १७ कठ्ठा १४ धुरमा बन्ने पार्कमा स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र स्व. सूर्यप्रसाद प्रधानको शालिक रहने र पार्कलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगर प्रमुख पाण्डेयले जानकारी दिए ।

गत जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालू आर्थिक वर्षका लागि शालिकसहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको नगरपालिकाका प्रेसविज्ञ सिपि खनालले बताए । ‘हामी निर्वाचित भएदेखि नै सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौं । बुटवल हामी सबैको र हामी सबै बुटवलको भन्ने भावनासहित बुटवलको सम्मुनत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेछौं,’ नगरप्रमुख पाण्डेले भने, ‘हामी बुटवलमा असल शासन, कुशल प्रशासन, चुस्त सेवाप्रवाह र प्रभावकारी कार्यका लागि निरन्तर समर्पित छौं । सबै वडाहरूको सन्तुलित विकास गर्दै नगरबासीको साझा चौतारीको रूपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न हामी प्रयत्नरत छौं ।’

कार्यक्रममा प्रमुख पाण्डेयले सय दिनको अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, कृषि बजार केन्द्र स्थापना, आम्दा अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताए ।

यस्तै बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि बढाइएको उल्लेख गरे ।

नगरप्रमुख पाण्डेयले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरूका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि च्यानलाइज गर्ने र तारजाली लगाउने काम गरेको बताए । उनले कर छुट दिनेदेखि शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएर काम गरेको बताए ।

नगर उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि चरणबद्ध रूपमा योजनाहरू कार्यान्वयनमा जाने बताइन् । उनले बुटवललाई सहमति र सहकार्यका आधारमा सबैलाई साथ लिएर अघि बढ्ने बताइन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध र सफल बनाउने योजना सफल पार्नका लागि कर्मचारी संयन्त्र प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x