लुम्बिनी

लीला गिरी : शिक्षकबाट गाविस अध्यक्ष हुँदै मुख्यमन्त्रीकाे कुर्सीमा

विक्रम खड्का |
पुस २७, २०७९ बुधबार १८:३४ बजे

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सत्ता गठबन्धनसहित लोसपाका ३ र स्वतन्त्र २ सांसद गरी गिरीलाई ५८ जनाको समर्थन छ । लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३/३, सिट छन् । नागरिक उन्मुक्तिसँग ४ सीट र स्वतन्त्र २ जना सांसद रहेका छन् ।


८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् । बिहीबार प्रदेश राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे शपथको कार्यक्रम छ ।

लुम्बिनी प्रदेशमा बुधबार मात्र मुख्यमन्त्री भएका गिरी कुनै बेला शिक्षक थिए । उनले कुनै बेला हाल तिलोत्तमाको ढिंगरनगरमा रहेको जनज्योति माविमा पढाउँथे । २०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालीन पञ्चेहरुका विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरुसंगै आन्दोलनमा सहभागी भएका गिरी गुल्मीबाट ०३४ सालमा रुपन्देहीको शंकरनगर–१ मा (हालको तिलोत्तमा नगरपालिका–१ बसाई सरेर आए यता राजनीतिक र सामाजिक काममा हालसम्म उत्तिकै सक्रियतापूर्वक निरन्तर क्रियाशील रहेका छन् ।

उनी बहुदलीय व्यवस्थाको पहिलो गाविस अध्यक्ष समेत बने । शंकरनगर गाउँ विकास समितिमा गिरी पहिलो जननर्वाचित अध्यक्ष हुन् । गिरीले सहिद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, युवा सक्रिय दल, दक्षिण एसियामै ऐतिहासिक मानिने सोह्र–छत्तीस कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सरिक भएर किसानमा वामपन्थी राजनीति प्रवाह गरेका थिए ।

किसानहरूलाई पार्टीमा आवद्ध गर्ने, संगठित गर्ने र अभियानमा सरिक बनाउने काममा पनि उनी सक्रिय भए । वि.सं.२०६१ माघ १९ गतेको ज्ञानेन्द्रको शाही ‘कु’ को विरोधको नेतृत्व गरेको भन्दै पक्राउ गरी जेल चलान गरियो । ०६१ माघ २७ देखि ०६२ वैशाख २८ गते सम्म जिल्ला कारागारमा जेल यातना भोगेको उनी बताउँछन् ।

२०४६ देखि पार्टी कमिटीको नेतृत्व गरेका गिरीले २०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य, २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, वि.सं.२०५६ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव भएर काम गरेका थिए । त्यस्तै वि.सं.०५८–०६१ सम्म एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव, ०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला कमिटी सचिव (पार्टी जिल्ला प्रमुख) र जिल्ला कमिटी अध्यक्ष बने ।

वि.सं. २०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख भए । वि.सं.०६९–०७० सम्म अञ्चल कमिटी सदस्य र नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएर काम गरेका थिए गिरीले । नेकपा कालमा नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बनेका गिरी हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी सहइन्चार्ज छन् ।

०७४ मंसिर २१ गते सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ (१) बाट प्रतिस्पर्धीलाई दोब्बरभन्दा धेरै मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका गिरी २०७९ मंसिर ४ गते सम्पन्न चुनावमा रुपन्देही क्षेत्र २ (१) बाटै कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै लुम्बिनी प्रदेश सभामा विजयी भए । उनलाई नजिकबाट चिन्ने तिलोत्तमा – २ निवासी अग्रज पत्रकार अर्जुन ज्ञवाली गिरी सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको स्मरण गर्छन् ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x