लुम्बिनी

भयावह बन्‍दै कोभिड : बाँके र बुटवलमा १३ जनाको मृत्यु

विक्रम खड्का |
बैशाख २०, २०७८ सोमबार १२:० बजे

बुटवल : लुम्बिनी प्रदेशमा कोभिड-१९ संक्रमण भयावह बन्दै गएको छ । बाँके र रुपन्देहीमा १३ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । बाँकेका थप ७ कोभिड-१९ संक्रमितको उपचारको क्रममा निधन भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा  वैशाख १५ गते उपचारका लागि भर्ना भएका ६६ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका १ का ती पुरुषको वैशाख १६ गते पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।


त्यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका ५ का  ४८ वर्षीय पुरुषको पनि गएराति ९:१० बजे  निधन भएको छ । उनको वैशाख १४ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो । भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिकाका २ का ५१ वर्षीय पुरुषको पनि आज बिहान ३:३० बजे निधन भएको छ ।  उनको वैशाख ६ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो । उनी वैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ६० वर्षीय महिलाको आज बिहान १:२० बजे मृत्यु भएको छ । वैजनाथ गाउँपालिका ८ उनलाई ती महिलाको हिजो नै पिसिआर पोजिटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो । डिसिसिएमसी बाँकेका अनुसार बढैयाताल गाउँपालिका ८ का ४७ वर्षीय पुरुषको पनि आज बिहान ६: ३० बजे भेरी अस्पतालमा निधन भएको छ । वैशाख १७ गते भेरी अस्पतालमा पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएका उनलाई वैशाख १८ गते अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसैगरी, खजुरा गाउँपालिका २ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा आज बिहान ८:३० बजे मृत्यु भएको छ । वैशाख ५ गते पिसिआर रिपोर्ट पोजिटिभ आएका उनलाई वैशाख ७ गते अस्पताल भर्ना गरिएको थियो ।

कोहलपुर नगरपालिका १५ का ६० वर्षीय पुरुषको आज बिहान १ बजे  नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । उनको १७ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । उनी १७ गते नै अस्पताल भर्ना भएका थिए ।

योसँगै हालसम्म बाँके जिल्लाका १३५ संक्रमितको मृत्यु भएको छ । बाँकेमा उपचाररत रहेका बाहिरी जिल्लाका १२२ संक्रमितको मृत्यु भएको डिसिसिएमसी बाँकेले जनाएको छ । बाँकेमा हाल ३ हजार ८९६ जना सक्रिय संक्रमित रहेका छन् । हिजो मात्र बाँकेमा जिल्लाका ९ र बाहिरी जिल्लाका ३ गरी १२ संक्रमितको मृत्यु भएको थियो ।

बुटवलको कोभिड अस्पतालमा ६ जनाको मृत्यु
रुपन्देहीमा उपचाररत ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु भएको हो । 

सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देही बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष, बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष, शिवराज ७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x