लुम्बिनी

देश कोभिडको चपेटामाः तस्करलाई दशैं

बिक्रम खड्का |
बैशाख २६, २०७८ आइतबार ११:४७ बजे

बुटवल : देश यतिबेला तीव्र रुपमा फैलिरहेको कोभिड-१९ को महामारीसंग जुधिरहेको छ । सबैको ध्यान यसबाट बच्ने र बचाउनेमै केन्द्रित छ । निषेधाज्ञा गरेर संक्रमणको चेनब्रेक गर्ने प्रयास भैरहेको बेला नदिजन्य सामग्रीको चोरी तस्करी गर्नेहरुलाई यहि समय दशैं जस्तै बनेको छ । 

सिङ्गो देश कोभिड माहामारीको सामना गरिरहेको संकटपूर्ण अवस्थामा पश्चिम नवलपरासीका खोलाहरुमा तस्करको मनमौजी चलेको छ । स्थानिय बासिन्दा घरभित्र बसेको र सुरक्षा निकाय संक्रमण नियन्त्रणमा खटिईरहेको बेला तस्करले भने मौकामा चौका हानिरहेका छन् ।


ति खोलाहरुमा ठुला ठुला उपकरण हेक्साभेटर, डोजर प्रयोग गरि अबैध उत्खनन् गर्ने काम तीव्र गतिमा भइरहेको छ । स्थानिय राज चौधरीले भने- 'बिहान उज्यालो नहुदैदेखि राती अवेरसम्म पनि खोलामा ठेकेदारका मान्छेहरुले खनिरहेको र गिट्टी बालुवा बोकिरहेका हुन्छन् ।'  

ठेकेदारले सम्बन्धित निकायसंग सेटिङ मिलाएरै अवैध दोहन गर्दै आएको चौधरीको बुझाई छ । सुनवल नगरपालिका अन्र्तगत पर्ने भुमही र तुरीया खोलामा भैरहेको अवैध उत्खनन् भैरहेको क्षेत्र हुन् । 

तर खोला ठेक्का प्रकृयामा सम्बन्धीत निकायलाई आर्थिक प्रलोभनमा पारी गैरकानुनी रुपमा मेसीनको प्रयोग हुने गरेको स्थानियले बताएका छन् । जसको कुनै अनुगमन हुने गरेको छैन । 

अहिलेको कोरोना संकटको अवस्थामा उनिहरुलाई राम्रो अवसर जुटेको छ । राज्यका नियामक सबै अंगहरु कोरोना महामारी नियन्त्रणमा केन्द्रित भएको बाहनामा रात दिन एक्साभेटरबाट अवैध उत्खन्न र स्टक गर्नेहरुका विषयमा उजुरी समेत भएको छ । 

सुनवल नगरपालिकास्थित भुमही खोलाको ठेक्का रायमाझी कन्सट्रक्सन, काठमाडौँ र तुरिया खोलाको ठेक्का, मल्टीटेक कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि पेप्सीकोला काठमाडौँले लिएको हो । ठेकेदारका प्रतिनिधि राहुल विकले आफुहरुले नियम अनुसारको काम गरिरहेको प्रतिक्रिया दिए । उनले सम्बन्धित नियकाबाट सामग्री निकाल्ने अनुमतिको कागज भएकोले कसैले ठाउको दुखाउन नपर्ने जवाफ दिएका छन् ।

अवैध खोला दोहन हुदा प्रत्यक्ष असर र प्रभावको चपेटामा पर्ने स्थानीय समुदाय तस्करहरुका अगाडि बोल्न सकेका छैनन् । स्थानियका केहि अगुवाहरुलाई मिलाएर समेत काम भएको हुन सक्ने चौधरीको छ । स्थानिय तहसँगै चुरे संरक्षण समिति, जिल्ला समन्वय समितिले समेत पटक पटक गुनासो गरेपनि सुनुवाइ गरेको छैन ।

 यस विषयमा नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले गुनासो आएको बताए । तर आफुहरुको ध्यान अन्यत्रै भैरहेको बेला त्यस्तो गरिएको हो भने कारबाही हुने उनको भनाई छ । अत्यावश्यक बाहेकका सबै काम बन्द भएको बेला खोला उत्खनन् गर्ने कार्य बन्द गर्न चौतर्फी दबाब सिर्जना गर्नुपर्ने आवाज उठेको छ । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x