लुम्बिनी

नवलपरासीमा सशस्त्रको गोलीबाट युवकको मृत्यु, कसरी भयो घटना ?

स्वास्थ्यमन्त्रीकै गाउँमा निषेधाज्ञा उल्लंघन

बिक्रम खड्का |
जेठ ५, २०७८ बुधबार १८:४८ बजे

बुटवल : स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी कोभिड-१९ संक्रमण भयावह हुनुमा स्वास्थ्य मापदण्ड पालना नहुनुलाई प्रमुख कारण बताउँदै आएका छन् । विभिन्‍न सञ्‍चार माध्यममा उनले निषेधाज्ञाको पालना गर्न र सुरक्षा सावधानी अपनाउन पटक-पटक आग्रह गर्दै आएका छन् । तर, स्वास्थ्य मन्त्रीको आग्रहको उनकै गाउ-टोलमा चरम उल्लंघन भएको छ । बुधबार बिहान नवलपरासी सुस्ता पश्चिमको प्रतापपुर ६ मा भएको दुःखद घटनाले यसको पुष्टि गर्दछ ।

दुई-चार जना होइन सीमा नाकाबाट भारत जान खोज्‍ने हुलका हुल मान्छेलाई सशस्‍त्र प्रहरीले रोक्दै आएको छ । कोभिड हटस्पटका रूपमा रहेको भारतीय बजार लक्ष्मीपुर जान खोज्‍ने उनीहरूलाई रोक्न प्रहरीलाई हम्मेहम्मे पर्छ । प्रत्येक दिन उनीहरू लुकिछिपी पनि भारतीय बजार जाने गरेका छन् । भारतीय बजारमा कोभिडले आक्रान्त पारिरहेका बेला उनीहरूलाई प्रहरीले रोक्‍दै आएको छ ।


मन्त्री त्रिपाठीकै गाउँका  युवाहरूले सरकारले जारी गरेको लकडाउनको धज्जी उठाउदै निवार्ध नेपाल-भारत वारपार गर्न खोजेपछि बुधबार दुखदः खटना घट्यो । दुखद् घटनामा मन्त्री त्रिपाठीका कार्यकर्ता बच्चा राजभरका छोरा अविनाशको मृत्यु भयो । घटनापछि  सुुरक्षा निकायले थप जनशक्ति परिचालन गरेको छ । सशस्‍त्र प्रहरीका डिआईजी राजु अर्याल घटना स्थलमा पुगेका छन् । उता घटनापछि आक्रोशित युवाहरू पनि प्रहरीमाथिको आक्रमणका लागि मौका हेरिरहेको स्थानीय एक जनप्रतिनिधिले बताए । सोही पालिकाका वडा अध्यक्ष रामहरी उपाध्यायले दुःखद घटना भएको बताए । उनले दिउँसोमा  निषेधाज्ञामा केही कडाइ भए पनि बिहान साँझ र राति मान्छेहरू मनलाग्दी हिड्ने गरेको बताए ।

कसरी भयो घटना 
बुधबार बिहान ८ बजेतिर प्रतापपुर ६ र सुस्ता ५ को सिमानाका वनकटी हुर्दै प्रतापपुरको मिया टोलका स्थानीय केही युवाहरू भारत प्रवेश गर्न खोजे । ५ जनाको समूहमा आएका उनीहरू किनमेलका लागि भारतको लक्ष्मीपुर बजार जान पाउनु पर्ने अड्डी लिए । नाकामा खटिएको सशस्‍त्र प्रहरी जावानसँग उनीहरूको लामै विवाद भयो । प्रहरीले निषेधाज्ञाको बेला जान नदिने अडान राखेपछि उनीहरू थप आक्रोशित हुदै फकिए । 

त्यपछि प्रहरी आफ्नै डियुटीमा मस्त भए । तर केहि बेरमा तिनै युवाहरूसहित ४५ देखि ५० जना सम्मको समूह प्रहरीतिर आयो । सशस्‍त्र प्रहरी उपरीक्षक महेश अधिकारीका अनुसार उनीहरू प्रहरीलाई आक्रमण गर्न ढुगांमुढा, लट्ठी र भालासहित आइरहेका थिए । विना संवाद उनीहरूले ढुङ्गा बर्साउन थालेपछि प्रहरी पनि प्रतिरक्षामा उत्रियो । उनीहरूको ढुङ्गा लागेर सुरक्षामा खटिएका सशस्‍त्रका प्रहरी नायव निरीक्षक शंकर बुढाथोकी घाइते भए । उनलाई टाउकोमै चोट लाग्यो । त्यसपछि प्रहरी पनि आक्रामक देखियो । प्रहरीले सुुरुमा हवाई फायर गरेको प्रहरी उपरीक्षक अधिकारी बताउछन् ।

तर हवाई फायर भैरहदा पनि भिड तितरबितर भएन । त्यसपछि प्रहरीले खुट्टामा लक्षित गरी गोली चलायो । तीमध्ये एक युवाको तिघ्रामा गोली लाग्यो । गोली लागेर गम्भीर घाइते अविनाश राजभरलाई प्रहरीले नै उपचारका लागि अस्पताल लगेको हो । तर उनको उपचारकै क्रममा निधन भएको छ । प्रतापपुर र सुस्ता दुई गाउँपालिकाको बीचमा पर्ने यो नाकाबाट भारत जाने स्थानीयहरूलाई रोक्न खोजे पनि गोली नै चलाउनु प्रहरीको कमजोरी भएको कतिपयले बताएका छन् । 

निषेधाज्ञा पालनामा निरन्तर अनुरोध गरेका छौंः स्थानीय पालिका 
सुस्ता र प्रतापपुरका स्थानीय पालिकाहरूले लकडाउनको पालना गर्न निरन्तर अनुरोध गर्दै आएको बताएका छन् । भारतीय सीमा क्षेत्रमा कोभिड को संक्रमण निकै फैलिएकोले भारततर्फ नजान निरन्तर अपिल गर्दै आएको प्रतापपुर गाउपालिकाका कार्यवाहक अध्यक्ष अञ्जु चौधरीले बताइन् । उनले भनिन्, ‘हामीले घर घरमै पुगेर लकडाउनको पालना गर्न अनुरोध गरेका छौं । तर सिमानाका क्षेत्रमा पालना भएको छैन, जसको परिणाम आज दुखद घटना भयो ।’  

यता सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले पनि सशस्‍त्र प्रहरीसँग भएको घटना निकै दुःखद भएको बताए । आफ्नै पालिकाको मियाँ टोलका युवाहरूसँग सुुरुमा विवाद भएपछि थप युवा र स्थानीय आएर प्रहरीमाथि जाई लाग्दा घटना भएको आफूले जानकारी पाएको बताए । उनले सिमानाकामा जति नै प्रयास गरे पनि लकडाउन पालना गराउन नसकिएको बताए । सशस्‍त्र प्रहरीले  अन्तिम अवस्थामा आएर मात्र गोली चलाउनु परेको बताएको छ । 

घटनापछि आक्रोशित बनेको प्रतापपुरा-६ मा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसहितको टोली पुगेर घटनालाई समान्य बनाउने प्रयास गरेको थियो । प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार दुःखद घटना भए पनि थप अरु घटना नहोस् भन‍नका लागि  सबैतिर उच्च सर्तकर्ता अपनाइएको छ । 

सरकारले गठन गर्‍यो छानबिन समिति 
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीकै गाउँमा प्रहरीको गोली लागेर एक जना सर्वसाधारणको मृत्यु भएपछि सरकारको पनि ध्यानाकर्षण भएको छ । गृह मन्त्रालयले बुधबार नै मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय छनबिन समिति गठन गरेको छ । जसमा सशस्‍त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मुधसुधन लुइँटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोख्रेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त बराल छन् । यो समितिले ५ दिनको समयमा घटनाको अनुसन्धानगरी प्रतिवेदन बुुझाउने जानकारी दिइएको छ । अनुसन्धानका लागि छनबिन समिति बनेको जानकारी दिँदै नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्रले आफूहरूले सत्यतथ्य विवरण संकलनका सबैको सहयोग लिने बताए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x