लुम्बिनी

कर्तव्यनिष्ठ भएर काम गर्न भैरहवा भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

इकागज |
साउन ८, २०८० सोमबार १४:३५ बजे

बुटवल- अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री महतले यस्ताे निर्देशन दिएका हुन् ।

‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्न कम भयो,' उनले भने, 'आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठ्यो । सँगसँगै नाका र नाका बाहिर दुरुपयोग गर्ने तथा अन्य उपाय उपयोग गरेर सामान भित्र्याउने प्रवृत्ति विद्यमान छन् ।’ 


सुरक्षा निकायसहितको समन्वय समिति पनि छ । कुनै कारणबाट राजश्व उठाउने क्रममा दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाका बाहिरबाट प्रवेशलाई सरकारले गम्भीरताका साथ लिएको उनको भनाइ छ ।

उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै अर्थमन्त्री महतले भने, ‘यो जिम्मेवारी जो कोहीले पाएको छैन, धेरै मान्छेहरू हाम्रो राज्य संयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरू सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने, उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’

उनले अगाडि भने, ‘काम गर्न मन लागेको छैन, मन नलागी काम गरियो भने त्यसबाट परिणाम आउँदैन । जसले जहाँ जिम्मेवारी पाएको छ, उसले पूर्ण समर्पणका साथ काम गर्यो भने मात्र परिणाम आउँछ । मैले तपाईंहरूबाट यही आशा गरेको छु ।'​

यहाँका आवश्यकताका बारे पनि मन्त्रालय​ त्यत्तिकै गम्भीर रहेको मन्त्री महतले बताए । उनले भने, ‘यसबारे अर्थमन्त्रालय गम्भीर छ । संयन्त्रमा जे कुराको आवश्यकता छ, आधुनिक मेसिनको आवश्यकता छ, अरु सहयोगी संरचना नभएर काममा बाँधा परेको छ भने त्यो बाधा फुकाउन मन्त्रालय तयार छ । आवश्यकता सामग्रीको फेहरिस्त दिनुस् हामी पूरा गर्छौं ।’

यहाँ ल्याइएको मेसिन प्रयोग नभएको कुरा पनि आएको छ । मेसिन चलाउन जानेनौँ भनेर प्रयोग नभएको बताइन्छ । त्यसकारण यो प्रवृत्ति पनि गलत रहेको मन्त्री महतले औंल्याए ।


Author

थप समाचार
x