लुम्बिनी

एमाले लुम्बिनी प्रदेशको अधिवेशन बुटवलमा हुँदै

नेतृत्वका लागि विष्णु पौडेल र शंकर पोख्रेल समूह आमनेसामने

इकागज |
भदौ १४, २०८० बिहीबार २०:२३ बजे

बुटवल- शनिबारदेखि बुटवलमा हुने नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा दुई समूह आमनेसामने भएका छन् । एमाले लुम्बिनीको प्रथम अधिवेशन यही भदौ १६ र १७ गते बुटवलमा हुँदैछ । उक्त अधिवेशनको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

अधिवेशनको तयारी पूरा भएको एमाले सचिव तथा प्रदेश ईन्चार्ज पद्मा अर्यालले बताइन् । एमाले गुटविहीन भएको भनिरहेको बेला लुम्बिनीमा केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल निकटका नेताहरू भने विभाजित देखिएका छन् । प्रदेश अध्यक्षका लागि महासचिव शंकर पोखरेलको समूह बनाएर प्युठानका हरि रिजाल र उपाध्यक्ष विष्णु पौडेल पक्षबाट पाल्पाका राधाकृष्ण कँडेलले आकांक्षा देखाएपछि लुम्बिनी प्रदेशको राजनीति पेचिलो बनेको हो ।


केही दिनअघि मणिग्रामको ड्रिम रिसोर्टमा कँडेललाई अध्यक्ष बनाउनुपर्ने भन्दै नेताहरू खिमलाल भट्टराई, लीला गिरी, भोजप्रसाद श्रेष्ठ दधिराम न्यौपानेलगायत बैठक बसेको दाबीसहित त्यस लगत्तै हरि रिजाललाई अध्यक्ष बनाउनपर्ने लविङमा बुटवलकै आरम्भ रिसाेर्टमा नेताहरू पुगेका थिए । यो समूहमा चेतनारायण आचार्य, बलराम अधिकारी, भूमिश्वर ढकाल, शिव सुवेदी, थानप्रसाद गैरेलगायतका नेताहरू लुम्बिनी प्रदेशका १० जिल्ला अध्यक्षसहित बैठक बसेका थिए । भूगोलका स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरू दुई समूहमा बाँडिएपछि मिलन विन्दु जटिल बनेको हो ।

दुई अध्यक्षका आकांक्षी देखिएपछि उनीहरूका समर्थक नेता, कार्यकर्ताले पार्टीका दुई नेता महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलनिकट भन्दै प्रचार गर्न थालेका छन् । रिजाललाई महासचिव पोखरेल र कँडेललाई उपाध्यक्ष पौडेलको उम्मेदवारका रूपमा प्रचार गरेपछि एमाले लुम्बिनीमा स्पष्ट खेमा देखिएको छ । केन्द्रीय सदस्यसमेत रहेका प्यूठानका पूर्वप्रदेश सांसद, पूर्वमन्त्री हरि रिजालसहितका नेताहरूले बुटवलको ढवाहामा रहेको आरम्भ रिसोर्टमा भेला गरेको तस्बिर सार्वजनिक भएको छ ।

उपाध्यक्ष विष्णु पौडेल निकट मानिने वर्तमान प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल समूहका केही नेताहरूले पनि तिलोत्तमाको मणिग्रामस्थित ड्रिम ल्याण्ड रिसोर्टमा भेला भई छलफल गरिरहेका छन् । एमाले पोलिब्यूरो सदस्य तथा पूर्व प्रदेश अध्यक्ष लीला गिरीले पार्टी निर्देशनविपरीत कसैलाई गुट बनाउने छुट नभएको र यसो भए गुट बनाउनेकै क्षति हुने दाबी गरेका छन् । तर, उनै गिरी कँडेल पक्षको भेलामा सहभागी भएका थिए ।

उता रिजालको भेलामा सहभागी केन्द्रीय सदस्य चेतनारायण आचार्यले केही मन मिल्ने साथीहरूको बसाइँलाई गुटको भेला भनिनु राम्रो नभएको बताए । ‘हो हामी केही साथीहरू बसेर कसरी अधिवेशन सम्पन्न गर्ने, कसरी नेतृत्व छनौट गर्ने भन्ने विषयमा छलफल गरेका हौँ, मेरो घर पनि बेलवास नै भएकाले यतै होटलमा बसेका हौँ,' उनले भने ।

प्यूठान अध्यक्ष विजयविराज विष्टका अनुसार सो भेलामा रोल्पा र रुकुमका नेता भने सहभागी थिएनन् । जिल्लाबाट छनोट भएका प्रतिनिधिको गुटगत पक्षधरता र चुनावी रणनीतिबारे रिपोर्टिङ र छलफल भएको विष्टले बताए । एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले अधिवेशनका बेला सामान्य भेटघाट, छलफललाई सामान्य माने पनि समूह नै बनाएर निर्वाचनमा जाने विषय उचित नहुने बताउँछन् । नेतृत्वका आकांक्षीहरूलाई प्रतिनिधिसमक्ष जान दिनुपर्ने उनको भनाइ छ ।


Author

थप समाचार
x