लुम्बिनी

एमाले प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा

इकागज |
भदौ १६, २०८० शनिबार ९:३० बजे

बुटवल- नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा हुँदै छ । अधिवेशन उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरु शनिबार बुटवल आउँदै छ । केन्द्रीय तहका केही नेताहरु भने केहीदिनअघिदेखि नै बुटवलमा आएर बसेका छन् । मुलुक संघीयतामा गएसँगै तयार भएको संरचनात्मक संगठन अनुसार पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनलाई चासोका साथ हर्ने गरिएको छ ।

शनिबार पहिलो दिन उद्घाटनसत्र गरी आइतबारदेखि बन्दसत्र सुरु हुने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेहुँदा आफू अनुकुल नेतृत्व छनोटमा शिर्ष नेताहरुले केही दिनअघिदेखिनै आन्तरिक छलफल तथा तयारी गरेका छन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा हुने उद्घाटनसत्र र त्यसपछि सभाहलभित्र हुने बन्दसत्रले नेतृत्व चयन गर्ने छ ।


यो वर्षलाई अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेले यस लगत्तै अन्य प्रदेशहरुमा पनि अधिवेशनको तयारी अघि बढाएको छ । सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे १२ बजे गर्ने भएका छन् । उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पदमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने एमाले लुम्बिनी प्रदेशका अध्यक्ष तथा अधिवेशन प्रतिनिधि राधाकृष्ण कंडेलले बताए ।

सम्मेलन पूर्व विहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन् । सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी हुने छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।


Author

थप समाचार
x