लुम्बिनी

एमाले लुम्बिनी प्रदेश अधिवेशन : सहमति नजुटेपछि उम्मेदवारी दार्ता सुरु

इकागज |
भदौ १७, २०८० आइतबार १७:४६ बजे

बुटवल- नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमति नजुटेपछि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । उपाध्यक्ष विष्णु पौडेलको समूहबाट पाल्पाका राधाकृष्ण कंडेल र महासचिव शंकर पोख्रेलको समूहबाट प्युठानका हरि रिजाल समूहसहित उम्मेदवारी दर्ता गर्ने तयारीमा जुटेका छन् । दुवै समूहमा रहेका नेताहरूले सहमतिको सम्भावना क्षीण भएको दाबी गर्दै चुनावी तयारीमा लागेकाे प्रतिक्रिया दिएका छन् ।

कंडेल एक वर्षअघि गठन भएको प्रदेश कमिटीका अध्यक्ष हुन् भने रिजाल पूर्व प्रदेश मन्त्री एवं पार्टी केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आइतबारको बन्द सत्रमा सम्बोधन गर्दै सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरे पनि सहमतिमा नेतृत्व चयनको सम्भावना करिब करिब टरेको नेताहरूको भनाइ छ । रिजाललाई पार्टी महासचिव शंकर पोखरेलनिकटका नेताहरू प्रदेश सांसदहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतले अध्यक्षमा अघि सारेका छन् । कंडेलले एक वर्ष मात्र तदर्थ समितिमा काम गरेकाले एक कार्यकाल काम गर्न पाउनुपर्ने अडान राखेका छन् ।


दुवैले अडान नछाडेपछि निर्वाचनमा जाने करिब निश्चित भए पनि नेताहरू सहमतिका लागि प्रयासमा लागिरहेको अध्यक्ष मण्डलका सदस्य तथा केन्द्रीय कमिटी सदस्य सावित्रा अर्यालले बताइन् । उनले सकेसम्म सहमतिमै जोड छ नभए प्रजातान्त्रिक प्रक्रियाबाट पनि नेतृत्व चयन हुन सक्ने बताइन् । २०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६,अपांगबाट एक,मजदुरबाट ३, खुल्लाबाट पदाधिकारीसहित १५ जना गरी २०५ जना निर्वाचित हुने छन् । पदाधिकारी ५ जना हुनेछन् ।

निर्वाचन मण्डलले मतदाताको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन प्रकृया अघि बढाएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए । अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट एक सय जना बराबर एक जना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन् ।

सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।


Author

थप समाचार
x