लुम्बिनी

महासचिव गुटेरेसले भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित

गुटेरेस हिँड्ने सडकमा कालोपत्र गर्नेदेखि सरसफाइमा विशेष ध्यान

इकागज |
कात्तिक १३, २०८० सोमबार १८:१४ बजे

बुटवल- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्रसंघका महासचिवले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दाहरू पनि उत्साहित भएका हुन् ।

महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा पनि गरिएको छ ।


महासचिव गुटेरेस मङ्गलबार बिहान करिब ९ बजे लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनी विकास कोषले महासचिव गुटेरेस हिँड्ने सडकलाई कालोपत्र गर्नेदेखि सरसफाइलाई विशेष ध्यान दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित लुम्बिनी आउन लागेका महासचिव गुटेरेसको स्वागतका लागि सरसफाइ, सौन्दर्यीकरणदेखि सुरक्षासम्मको तयारी अन्तिम चरणमा पुगेको विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले जानकारी दिए ।

महासचिव गुटेरेसको भ्रमणलाई स्मरणीय बनाउन लुम्बिनी विकास कोषसहित रूपन्देहीका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा स्थानीय तहका पदाधिकारीले आपसी समन्वयमा तयारी गरिरहेका छन् । उपाध्यक्ष लामाले महासचिव गुटेरेसको स्वागत र सम्मानमा कुनै कमी नआउने बताए ।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष गोविन्द ज्ञवालीले राष्ट्रसंघका महासचिवको भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा थप प्रचारप्रसार हुने भएकाले लुम्बिनीको पर्यटन क्षेत्रलाई उत्साहित बनाएको बताए । उनले महासचिवको लुम्बिनी भ्रमणबाट बुद्धका शान्तिको सन्देश संसारभर फैल्याउन थप प्रभावकारी हुने भन्दै खुसी व्यक्त गरे ।

महासचिवको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा रणनीतिहरू तय गरिएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुखसहित कोषका पदाधिकारीको उपस्थितिमा सुरक्षा रणनीति बनाइएको हो ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले महासचिव गुटेरेसको सुरक्षाका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्मको आवश्यक सुरक्षा व्यवस्था बलियो बनाइएको बताए । उनका अनुसार समग्र रूपन्देही जिल्ला र भ्रमण हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको पनि छ ।

महासचिवको भ्रमणको सुरक्षा व्यवस्थाका लागि तीनवटै सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको र सुरक्षा संवेदनशील क्षेत्रको पहिचान गरी व्यवस्थापन गरिएको समेत प्रजिअ अर्यालले जानकारी दिए ।

महासचिव गुटेरेसले करिब डेढ घण्टा लुम्बिनीमा बिताउने कार्यक्रम तय गरिएको छ । डेढ घण्टाको अवधिमा उनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा विशेष पूजाआजा गर्नुका साथै अशोक स्तम्भअघिबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्त्विक महत्वका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराउने कार्यक्रम रहेको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

गुटेरेस लुम्बिनी भ्रमण गर्ने राष्ट्रसंघका छैटौँ महासचिव हुन् । राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त सन् १९६७ मा राष्ट्रसंघको महासचिवका रूपमा लुम्बिनी भ्रमण गर्ने प्रथम महासचिव हुन् । राष्ट्रसंघका महासचिवका रूपमा थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको योजनाबद्ध विकासको सुरुआत भएको मानिन्छ ।


Author

थप समाचार
x