लुम्बिनी

स्थानीय तहविरुध्द उजुरीको चाङ

बिक्रम खड्का |
मंसिर १०, २०७७ बुधबार १४:४६ बजे

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले चालु आर्थिक वर्षको चार महिनाको प्रगती विवरण सार्वजनिक गरेको छ । जसमा स्थानीय तहसँग सम्बन्धित सबैभन्दा धेरै उजुरी परेको छ । 

स्थानीय तहसँग सम्बन्धित ३ सय २९ वटा उजुरी दर्ता भएको अख्तियार बुटवल कार्यालयले जनाएको छ । त्यसमध्ये जम्मा ७५ वटा फस्र्योट भएका छन् । स्थानीय तहपछि शिक्षासँग सम्बन्धित १ सय ५२ वटा उजुरी दर्ता भएको छ । त्यसैगरी भूमि सम्बन्धी ६९, वनसम्बन्धी ३८, भौतिक पूर्वाधार तर्फको १९, कृषि सम्बन्धी २८, स्वास्थ्यको १७, उर्जा र सिचाइँको ४०, खानेपानी तथा शहरी विकासको ६ र अन्य ८१ उजुरी दर्ता भएको छ । 


कुल ७ सय ५४ वटा उजुरी मध्ये ७ सय १३ वटा फस्र्योट भएको अख्तियार बुटवल कार्यालयले चौमासिक प्रगती विवरणमा उल्लेख छ । जिल्लागत रुपमा हेर्दा अख्तियार बुटवल कार्यालयमा सबै भन्दा बढी रुपन्देहीबाट उजुरी दार्ता भएको छ । 

चालु आर्थिक वर्ष र गत आर्थिक वर्षबाट सरी आएका गरेर यो वर्ष २ सय ४० वटा उजुरी रुपन्देहीबाट दर्ता भएको छ । कपिलवस्तुबाट १ सय ४१ र नवलपरासी पश्चिममा ९४ वटा उजुरी दर्ता भएको छ । प्रदेशको दाङ र बर्दियाबाट यो वर्ष हालसम्म कुनै उजुरी दर्ता नभएको अख्तियारले जनाएको छ ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको स्टिङ अपरेसनमा माथिल्लो तहका कर्मचारी रंगेहात पक्राउ हुने क्रम बढेको छ । घुस लेनदेनमा विगतमा तल्ला तहका कर्मचारीहरु धेरै पक्राउ पर्ने गरेकोमा पछिल्लो समय उपसचिव स्तरका कार्यालय प्रमुखहरु पनि समातिने क्रम बढेको हो ।  

अख्तियारको बुटवल कार्यालयका अनुसार आर्थिक वर्ष २०७७र७८ को पहिलो चार महिनामा लुम्बिनी प्रदेशबाट मात्र ३ जना राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारी पक्राउ परेका छन् । 

अख्तियारले गत साउन २० गते राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई पक्राउ गरेको थियो । व्यवसायीसँग २ लाख रुपैयाँ घुस लेनदेन गरेको आरोपमा राना पक्राउ परेका थिए । 

त्यस्तै बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोदकुमार भट्टराइलाई साउन १९ गते अख्तियारले पक्राउ गरेको थियो । श्रोत नखुलेको रकम सहित भट्टराईसँग निकुन्जका सहायक संरक्षण अधिकृत विष्णु रोकाया पक्राउ परेका थिए ।यस्तै पूर्वाधार विकास कार्यालय बाँकेका मनिषकुमार अर्याल पनि श्रोत नखुलेको रकम सहित भदौ १४ गते अख्तियारको फन्दामा परेका थिए । 

कार्यालय प्रमुखहरु समातिने क्रम अघिल्लो वर्ष भन्दा यो वर्ष बढेको छ । २०७७/७८को आर्थिक वर्षभरिमा लुम्बिनी ३ जना उपसचिवका कर्मचारी पक्राउ परेका थिए ।
यस वर्ष भने पहिलो ४ महिनामै ३ उपसचिव तहका कर्मचारी पक्राउ परेका हुन् । अघिल्लो आर्थिक वर्षमा अधिकृत स्तरका कर्मचारी १३ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षमा अहिलेसम्म अधिकृत स्तरका कर्मचारी १ जना मात्र पक्राउ परेका छन् ।

स्टिङ अपरेसनमा चालु आर्थिक वर्षमा पक्राउ परेका अरु पद र दर्जा मध्ये एक जना वडाध्यक्ष, एक जना नायब सुब्बा तहका कर्मचारी, ३ जना श्रेणीविहिन कर्मचारी र बाँकी ४ जना कर्मचारी बाहेकका हुन् ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x