लुम्बिनी

भन्सार छलेर ल्याएका ८२ लाख बराबरको सामान बरामद

इकागज |
असार ३, २०७८ बिहीबार ६:५२ बजे

बुटवल : कपिलवस्तुको कृष्णनगर नाकाबाट भन्सार नगरी ८२ लाख बराबरको छड बनाउने कच्चा पदार्थ बोकेको गाडी नेपाल भित्रिएपछि सशस्त्र प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार बिहान ९ बजे भन्सार मूल गेट हुँदै यु पी ५३ सी टी २११९ नम्बरको ट्रेलरमा फलामे छड बनाउन प्रयोग हुने कच्चा पदार्थ एम एस विलेट (फलाम) नेपाल भित्रिएको हो ।

उक्त ट्रेलरमा ३४.४ मेट्रिक टन विलेट विजया स्टिल प्रा.लि.का लागि भित्रिएको बताइएको छ । सशस्त्र प्रहरी बल २८ नम्बर हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुव्रबहादुर कार्कीका अनुसार विशेष सूचनाका आधारमा विओपि कृष्णनगरले कृष्णनगर नगरपालिका-२ मा रहेको चेक पोइन्टमा पक्राउ गरेको बताए । सशस्त्र प्रहरीले ट्रेलरसहित भारतको वरीयातपुर कुशिनगर बस्ने चालक वर्ष ३४ को सन्जय कुमार कुशवाह र सहचालक वर्ष २४ को अंगद कुमार कुशवाह लाई पक्राउ गरी कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको छ ।


भन्सार कार्यालय प्रमुख जनार्धन पौडेलका अनुसार गाडी चालक नयाँ भएको कारणले थाहा नभएर भन्सार नगरी भित्रिएको बताए । विलेट लिएर आएका ५ वटा सँगैको लहरमा छिरेको र गेटमा बस्ने कर्मचारी झुक्किएर थाहा नपाएको बताए । पक्राउ गरिएको माल सम्बन्धी अनुसन्धान सुरु भएको पौडेलले बताए । यता स्थानीय मनोज ओझाका अनुसार निषेधाज्ञाको मौका छोपी भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा गाडी भित्राइएको दाबी गरे ।


Author

थप समाचार
x