लुम्बिनी

लुम्‍बिनीमा सत्ता संकट: विपक्षी गठबन्धन समावेदन दर्ता गर्दै

बिक्रम खड्का |
साउन १८, २०७८ सोमबार ११:५४ बजे

फाइल तस्‍बिर

बुटवल - लुम्बिनी प्रदेशमा सत्ता संकट थप चुलिँदै छ । सरकारमा सामेल ३ जना मन्त्री प्रदेश सभा सदस्यबाट पदमुक्त भएपछि अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारलाई एकपछि अर्को चुनौती थपिएको हो । 

प्रदेश प्रमुख पनि विपक्षी गठबन्धन अनुकूल आएपछि मुख्यमन्त्री पोख्रेल थप झस्किएका छन् । संसद छलेर अध्यादेशबाट बजेट ल्याएका मुख्यमन्त्रीलाई फेरि सदन 'फेस' गर्पनुर्ने अवस्था देखिएको छ । किनकि विपक्षी सांसदहरू सशरीर प्रदेश प्रमुख अमिक शेरचन कहाँ पुगेर आजै संसद बैठकका लागि समावेदन गर्दैछन् । अल्पमतको सरकार सदन छाडेर भागेकोले समावेदनमार्फत बैठक बोलाउने नेपाली कांग्रेसका सासद डिल्ली चौधरीले बताए ।
 
'बहुमत गुमाएर पनि सत्तामा बस्ने तर सदनमा नआउने अवस्था भएपछि समावेदनको विकल्प भएन,' उनले भने, 'समावेदनमार्फत विशेष बैठकका लागि सदनमा यसअघि नै दर्ता भएको अविस्वासको प्रस्ताव अधि बढाइने छ ।'


यो विषयमा प्रदेश प्रमुखले कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनले पदभार ग्रहणकै क्रममा प्रदेशमा कानुनी शासन लागू गर्न आफू लागि पर्ने बताएका थिए ।

यता सत्तारुढदलले अविस्वासको प्रस्तावको कानुनी ‌चित्‍य नभएको बताउदै आएको छ । तर सरकारले कुनै समयमा विश्वासको मत लिने सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए । 

यस्तो अवस्थामा लुम्‍बिनीमा थप संकट निम्तिने देखिन्छ । दोस्रो पटक मुख्यमन्त्री हुँदाका शंकर पोख्रेलका सासदहरू घटेकोले उनी अल्पमतमा देखिएका छन् । तर उनले प्रदेश सभामा ५ जना सांसदको मुद्दा सर्वोच्चमा रहेकोले त्यसको छिनोफानो हुनुपर्ने बताएका छन् ।

जसपाबाट कारबाहीमा परेका  ३ जना र माओवादीबाट  कारबाहीमा परेका २ जना सांसदले वहालीको माग गर्दै अदालतमा पुगेका छन् । उनीहरूलाई छोड्दा अहिले प्रदेश सभामा ८० जना सासद कायम छन् । जसमध्ये मुख्यमन्त्रीको पक्षमा ३८ जना मात्र छन् । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x