लुम्बिनी

भेटिएला त गैंडा ‘तस्कर’को जालो ?

बिक्रम खड्का |
मंसिर २१, २०७७ आइतबार १५:४५ बजे

बुटवल : विश्वमै दुर्लभ एक सिंगे गैंडाको नेपालमा चोरी शिकारी बढिरहेको बेला बुटवलमा तस्करहरू समातिएका छन् । उनीहरूको साथबाट विश्व बजारमा बहुमुल्य मानिएको गैडाको खास समेत बरामद भएको छ । 

कोरोना माहामारीपछि मात्रै पनि एकसिंगे गैडा पाइने चितवनमा आघा दर्जनभन्दा बढी गैडा मारिएका छन् । जसमा  ५ वटाको खागसमेत चोरिएको छ । यसरी गैंडाको चोरी  सिकारी बढिरहँदा नेपालमा मात्र होइन विश्वकै वन्यजन्तु संरक्षकहरू निकै चिन्तित छन् ।


चितवनको निकुञ्ज प्रशासनमा संसदीय टोलीले अनुगमन गरी चोरी निकासी बढिरहेको भन्दै शुरक्षा सर्तकता बढाउन निर्देशन दिइएको छ । यसरी गैडाको खागसहित बुटवलमा तस्करहरूको समुह भेटिएपछि उनीहरूको संजालबारे प्रहरीले धेरै सूचना प्राप्त गर्ने अपेक्षा गरेकाे छ । 

बुटवलको सुख्खानगरमा रहेको एक होटलमा आएर दुई दिनदेखि बसिरहेका उनीहरूसंग गैडाको खागसमेत रहेको सूचना प्रहरीले हात पारेपछि बुटवल प्रहरीले होटलमा पुगेर स्टिङ अप्रेसन गरेको थियो । तर चलाख तस्करहरूले प्रहरीकै हतियार खोस्ने प्रयास गरेका थिए । घटनापछि प्रहरीले बताएअनुसार हतियार खोसाखोस भएपछि पड्किँदा एकजना अभियुक्त घाइते भएका छन् । 

उनको अवस्था गम्भीर रहेको छ । सुख्खानगरस्थित कलश होटलमा खागसहित तस्करहरू बसेको सूचनाका आधारमा शादा पोशाकका प्रहरी पुगेका थिए । प्रहरीको पेस्तोलको गोली लागेर तस्कर समूहका काठमाडौं बसन्तपुरका राकेश न्यौपाने घाइते छन् । उनको यूनिभर्सल मेडिकल कलेज भैरहवामा प्रहरी निगरानीमै उपचार भैइरहेको छ । फरार एकजनाको पनि खोजी भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रितमसिंह राठौरले बताए । 

प्रहरीले अन्य २ जनालाई पक्राउ गरेको छ । तस्कर समूहका १ जना फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमा भक्तबहादुर थापा र कर्णबहदुर रावत रहेका छन् । सुर्खेतका कर्णबहादुर रावत छन् भने भक्त बहादुर थापाको ठेगाना खुलेको छैन । चार जनाको समुहमा शनिबार आएर होटलमा बसेका थिए । उनीहरूले काठमाडौंबाट आएको बताएको होटलका कर्मचारीहरूले बताएका छन् । स्रोतकाअनुसार उनीहरू खागको किनबेचकै लागि बुटवलमा आएको हुनसक्ने आशंका गरिएको छ । 

धमाधम गैडा मर्ने तर तस्करहरू उम्किरहने कारणले हैरान बनेको प्रहरी प्रशासन बुटवलको घटनाले उत्साहित बनेको छ । यो घटनालाई समातेर अन्तराष्ट्रिय तस्कर संजालसम्म पुग्न सकिने कतिपय पशुअधिकारकर्मीहरूले तर्क गरेका छन् । निकै संवेदशिल घटनामा सफलता मिलेको भन्दै  रुपन्देही प्रहरी पनि उत्साहित देखिएको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रविण पोख्रेलले अन्तराष्ट्रिय चासोका रुपमा हेरिएको घटनामा प्रहरीलाई महत्वपूर्ण उपलव्धी हासिल गरेको दाबी गरे ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x