लुम्बिनी

सुरजलाई भेटेपछि लालबहादुरमा पलाएको आस

बिक्रम खड्का |
मंसिर २६, २०७७ शुक्रबार १५:३१ बजे

लालबहादुर र उनको श्रीमतीलाई आर्थिक सहयोग गर्दै सहयोगदाता सुरज पाण्डे र पहलकर्ता विष्णु पोख्रेल

बुटवल : पाँच वर्षदेखि जीवन-मरणकाे दाेसाँधमा रहेका लालबहादुर विकको मुहारमा खुसी छाउन थालेकाे छ । ५ वर्षअघि दुवै मृगौला फेल भएपछि जीवन-मरणको दोसाँधमा रहेका उनले उपचारका लागि सहयोगी दाता भेटाएपछि मुहारमा खुसी छाएकाे हाे। २९ वर्ष पुगेका लालबहादुर गुल्मी जिल्लाको चन्द्रकोट गाउपालिका ७ का स्थायी बासिन्दा हुन्।

विपन्न परिवारका लालबहादुरलाई २४ वर्षमै शरीरले धोका दियो । परिवारको पालनपोषणको मुख्य जिम्मेवारी भएका उनले यही अवधिमा कतारको खाडीदेखि भारतमा पनि रोजगारीका लागि पसिना बगाए । तर दुवै स्थानमा उनलाई काम गर्न शरीरले साथ दिएन । परिवारलाई खुसी दिन घरखेत साहुकोमा धिताे राखेर खाडी पसेका थिए ।


श्रीमती र भर्खरै जन्मिएको छोरी छोडेर मौलान पसेका लालबहादुर १५ महिना नपुग्दै नेपाल फर्किए । समय अवधिभन्दा छिटो फर्कनुको कारण उनी बिरामी थिए । नेपालमा आएर धेरै अस्पताल धाए, तर रोगको पहिचान भएन । बिरामी भएर विदेशबाट घर आए पनि उनी घरमा बस्ने अवस्था रहेन ।

घरको दैनिक गर्जो टार्नै समस्या भएपछि बिरामी अवस्थामै पनि उनी फेरि भारतमा पसे । फिल्मी कहानी जस्तै लाग्ने लालबहादुरको जीवनको पीडा आर्थिक अवस्थाले अझै घोचिरहेको छ । प्रतिकुल स्वास्थ्य अवस्थामा पनि परिवारका लागि मेहनत गर्न कस्सिएका लालबहादुरले भारतमा पनि तीन महिना भन्दा बढी बिताउन सकेनन् ।

उपचारका लागि पैसा नभएको र काम गर्न सक्ने अवस्था नभएपछि उनी फेरि घरमै फर्किए । त्यसपछि भने उनको रोगको पहिचान भयो ।  जब डाक्टरले उनका दुवै मृगौला काम नगर्ने अवस्थामा पुगेको जानकारी दिए, त्यसपछि उनको बाच्ने आशा सकियो । रोगले भन्दा पनि भोगले मर्ने अवस्थामा रहेको उनको परिवारमा लाखौं खर्च गर्ने र फेरि जीवन जिउन सकिने कल्पना गर्न सकेन । 

तर पनि आफन्त र साथीभाइहरूले सहयोग जुटाउन सके बाँच्न सक्ने आशा जगाएर लालबहादुर र उनकी श्रीमती सहयोगी हात फैलाउदै दाता खोज्न चोक चौतारामा पुगे । स्थानीय पालिकाहरूमा सहयोगका लागि पत्र बनाउनेदेखि देश विदेशका शुभचिन्तकहरूलाई हारगुहारमा उनीहरूले वर्षौ बिताए । 

यो विचमा धेरै खालका पीडा र कष्ट सहेका लालबहादुरले बुटवलका सुरज पाण्डेलाई भेटेपछि बाच्ने आशा पलाएको अनुभव गरेका छन् । आफ्नै ५२ वर्षीया आमाले छोराको जीवनका लागि एउटा किड्नी दिने भएकी छिन् भने सहयोगीदाता पाण्डेले उपचारका लागि लाग्ने ६ लाख रुपैयासम्म खर्च दिने भएका छन् । 

राज्यले दुखी गरिवको उपचार गरिदिने सुने पनि कहि कतै सहयोग नपाएको वेला एक जनाले एक्लै ६ लाख सम्मको सहयोगको बचनले निकै राहतको अनुभव भएको लालबहादुरकी श्रीमती सुनिताले बताइन् । यो विचमा पनि केही सहयोग रकम आएको सुनाउदै उनले नेपाल र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गर्दा सबै सकिएले किड्नी फेर्न समस्या परेको बताइन् ।

सहयोगदाता पाण्डेले पनि घरमा दाल चामल समेत नभएको भन्ने सुनेर लालबहादुरको घरमा पुगेको बताए । उनले भने, ‘घर खर्च चलाउनका लागि भनेर २५ हजार लिएर गएको थिएँ, उनीहरूको वेदना सुनेपछि किड्नी ट्रान्सपलान्ट गर्ने ५/६ लाख खर्च दिन्छु भनेको छु । ’बुटवलमा मोटरपाट्र्स लगायत विभिन्न व्यापार गर्ने पाण्डे सफल व्यापारिका रुपमा परिचित छन् । 

बुटवलको वहुमुखी क्याम्पसका एकजना विद्यार्थी नेता प्रदिप घर्र्ति आफ्नो जन्म दिन मनाउने क्रममा ४ महिना अघि तिनै लालबहादुरको डेरामा पुगे । उक्त कार्यक्रममा पुगेको नेपाल विद्यार्थी संघका पूर्व उपसभापती प्रकाश रानाले उनको घरको अवस्था देखेपछि एक वर्षको घर भाडा तिरिदिने बताए । त्यस्तै कांग्रेस रुपन्देहीका नेता विष्णु पोख्रेलले उपचारको सम्पूर्ण आर्थिक सहयोगको प्रवन्ध गरिदिने घोषणा गरे ।

उनको कुरा सुनेका लालबहादुरले त्यति विश्वास भने गरेका थिएनन् । मंसिरको तेस्रो हप्ता तिनै पोख्रेल सहयोग दाता बोकेर उनको घरमा पुगे तब लालबहादुरलाई केही आशा जाग्यो । तत्काल २५ हजार हातमा राखिदिएर उपचारका लागि लाग्ने खर्चको प्रवन्ध आफूले गर्ने र तत्काल उपचारका लागि अघि बढ्न भनेपछि भने लालबहादुरको अनुसारमा खुसी छायो । त्यसपछि भने उनको परिवार किड्नी परिर्वतन गर्नका लागि काठमाडौं जाने तयारीमा लागेका छन् ।

लालबहादुर विकसँगको कुराकानीमा आधारित )


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x