लुम्बिनी

बेरुजु फछ्र्यौटमा बौद्ध विश्वविद्यालय उत्कृष्ट

बिक्रम खड्का |
मंसिर ३०, २०७७ मंगलबार ११:४६ बजे

लुम्बिनी बौद्ध विश्वविद्यालय ।

बुटवल : रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएको छ । मुलुकका आठ विश्वविद्यालयलाई उछिन्दै बौद्ध विश्वविद्यालय उत्कृष्ट भएको हो । बेरुजु फछ्र्यौटमा उत्कृष्ट हुने सार्वजनिक निकायलाई बेरुजु फछ्र्यौट मुल्यांकन तथा अनुगमन समितिले पुरस्कार प्रदान गर्छ । यो समितिको संयोजक मुख्य सचिव रहन्छन् । मुख्यसचिव एवं समितिका संयोजक शंकरदास बैरागीले विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यलाई पुरस्कृत गरेका छन् । 

बौद्ध विश्वविद्यालयले अघिल्लो आर्थिक वर्षमा समेत उत्कृटता हासिल गरेको थियो । यो लगातार दोस्रो पटक उत्कृष्ट भएको हो । विश्वविद्यालयको पुरानो बेरुजु रकम १३ लाखको हाराहारीमा रहेको छ । अघिल्लो आर्थिक वर्ष महालेखा परीक्षकको कार्यालयले गरेको अन्तिम लेखापरीक्षणमा बौद्ध विश्वविद्यालयको बेरुजु र पुरानो फछ्र्याैट मापदण्डभित्र नै कायम भएपछि उत्कृष्ट ठहरिएको हो ।


बेरुजु फछ्र्याैट मुल्यांकन तथा अनुगमन समितिको मापदण्ड अनुसार पुरानो बेरुजु ८० प्रतिशतभन्दा धेरै फछ्र्याैट गर्ने र नयाँ लेखापरीक्षणमा १ दशमलवभन्दा कम बेरुजु हुनुलाई उत्कृष्ट मानिन्छ । बौद्ध विश्वविद्यालयले गत असार मसान्तसम्म अघिल्ला आर्थिक वर्षको ८० दशमलव शुन्य ५ प्रतिशत बेरुजु फस्र्याैट गरेको छ । आर्थिक वर्ष ०७५/०७६ मा बेरुजु शुन्य दशमलव ३५ प्रतिशत मात्रै रहेको छ ।

आर्थिक वर्ष ०७५÷०७६ मा ४५ करोड १७ लाखको लेखापरीक्षण सम्पन्न भएको थियो । त्योमध्ये १५ लाख ७६ हजार बेरुजु निस्किएको छ । सो बेरुजु कागजात संकलन गर्न बाकी भएको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । 

बेरुजु फछ्र्याैटमा उत्कृष्ट भएपछि बेरुजु फछ्र्याैट मुल्यांकन तथा अनुगमन समितिले पुरस्कार प्रदान गर्दछ । विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई मुख्य सचिव एवं समितिका संयोजक बैरागीले १० हजार नगद पुरस्कार प्रदान गरेका छन् । बेरुजु फछ्र्याैटका बखत कार्यरत प्रशासकीय प्रमुख र लेखा शाखाका कर्मचारीलाई पुरस्कार प्रदान गरिन्छ । 

बेरुजु फछ्र्याैट मुल्यांकन तथा अनुगमन समितिको प्रतिवेदन अनुसार बेरुजुमध्ये फछ्र्याैट गर्नेमा बौद्ध विश्वविद्यालय ७८ दशमलव ०३ प्रतिशतसहित पहिलो नम्बरमा छ । कृषि तथा वनले १४ प्रतिशत, त्रिभुवनको साढे ११ प्रतिशत, नेपाल संस्कृतको साढे ६ प्रतिशत मात्रै बेरुजु फछ्र्याैट भएको छ । 

त्रिभुवन विश्वविद्यालयमा अहिलेसम्म बेरुजुको रकम १५ अर्वको हाराहारीमा छ । नेपाल संस्कृतको ३१ करोड, मध्यपश्चिमाञ्चलको २३ करोड र पोखरा विश्वविद्यालयको २० करोडभन्दा धेरै रकम बेरुजु छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x