लुम्बिनी

लुम्बिनीमा समूह परिवर्तनको खेल

सरकार सुरक्षित देखेपछि मुख्यमन्त्री पोख्रेल सभा सम्मेलनमा व्यस्त

बिक्रम खड्का |
पुस २१, २०७७ मंगलबार १३:४६ बजे

बुटवल : नेकपा दुई समूहमा विभाजित भएपछि प्रदेश सरकार अल्पमतमा पर्न थालेका छन् । अहिले प्रदेश १ र वाग्मती सरकार अल्पमतमा परेका छन् । दुवै सरकारविरुध्द अविश्वासको प्रस्तावसमेत दर्ता भइसकेको छ । तर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल भने आफ्नो सरकार सुरक्षित रहेको भन्दै अन्य प्रदेशका सभामा हिंड्न थालेका छन् ।


लुम्बिनीमा दाहाल–नेपाल समूहका सांसद्ले समेत साथ दिएपछि मुख्यमन्त्री ढुक्क भएका हुन् । उनी ओलीका विश्वास पात्र मानिन्छन् । ओली समूहले गरेका कार्यक्रममा वक्ता बनेर विभिन्न जिल्ला पुग्न थालेका छन् । उनले हालै चितवनलगायतका विभिन्न जिल्लामा पुगेर सम्बोधन गरिसकेका छन् । 

दाहाल छोडेर ओली समूहमा
पछिल्लो समय सांसदहरूले समूह परिवर्तन गर्न थालेका छन् । पछिल्लो समय समूह परिर्वतन गर्ने मध्येका एक हुन माधव शर्मा । उनी पुष्पकमल दाहालका विश्वास पात्र मानिन्थे । उनले रुपन्देहीबाट प्रदेश सभामा निर्वाचित सांसद् हुन् । द्वन्द्वकालमै दाहाल निकट रहेर काम गरेका शर्मा सो समूहका लुम्बिनी प्रदेशकै प्रभावशाली नेताका रुपमा चिनिएका थिए । उनी लुम्बिनी प्रदेशको विषयगत समिति उद्योग वन वातावरण सामितिका सभापती पनि हुन् । केहि समयदेखि शर्मा मन्त्री बन्ने चर्चा चलेको थियो । 

जब पार्टी विभाजनको अवस्थामा पुग्यो सुरुको दुई दिन उनी दाहाल–नेपाल पक्षको विरोध सभामा पुगेर भाषण पनि गरे । तर, लगत्तै उनले सडक छोडे । नेकपा महासचिव तथा अर्थ मन्त्री विष्णु पौडेलमार्फत उनी ओली समूहमा आएका हुन् ।  उनी मात्र होइन सँगै ५ जना प्रदेश सभा सदस्य पनि आउने उनले दाबी गरे । प्रदेश सभाका उम्मेद्वार अनुप बरालसंगै ओली समूहमा लागेका शर्माको प्रवेशसंगै शंकर पोख्रेल नेतृत्वको सरकार बलियो बनेको हो । 

दाहाल–नेपाल समुहकै प्रदेश सभा सदस्य दिनेश पन्थी पनि ओली समूहमा लागेका छन् । उनले औपचारिक रुपमा घोषणा नगरे पनि दाहाल–नेपाल पक्षको आन्दोलनको कार्यक्रममा सहभागी हुन छोडेका छन् । उनी गुल्मी जिल्लाबाट प्रदेश सभामा निर्वाचित सदस्य हुन् । दुवै प्रदेशसभा सदस्य केन्द्रीय कमिटीको जिम्मेवारीमा पनि छन् ।

त्यसो त माधवकुमार निकट मानिने रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, गुल्मीका कमलराज श्रेष्ठ, पश्चिम नवलपरासीका वैजनाथ चौधरीलगायतले पनि पुरानो समूह छाडेका छन् । उनीहरूले यतिबेला ओली समूहमा लागेको प्रष्टीकरण दिइसकेका छन् ।  कुल ८७ जना सदस्य रहेको लुम्बिनी प्रदेश सभामा बहुमत सदस्य (६१ जना) नेकपाका रहेका छन् । ति मध्ये ४१ जना पूर्वएमाले र २० जना पूर्वमाओवादीका सांसद छन् ।

त्यस्तै, कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एकजना छन् । ‘लुम्बिनी प्रदेश अन्तरगत साविक लुम्बिनी अञ्चल ओली पक्षको बलियो आधार भएको क्षेत्र हो । जहाँ नेकपा शीर्ष तहमा रहेका महासचिव विष्णु पौडेल, प्रदिप ज्ञवाली, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा ओली समूहमा छन् । त्यसो त नेकपामा वौद्धिक र वैचारिक नेताको रुपमा चिनिने घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेलगायतका नेता पुष्पकमल दाहाल–माधव नेपाल समूहमा छन् ।

प्रदेशसभामा तत्कालीन एमालेले ४१ सिट जितेको मध्ये ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद् थिए ।  नेपाल पक्षका विष्णु पन्थीबाहेक अन्य प्रदेश सभा सदस्यले खुलेर सो समूहमा देखिएका छैनन् । उनीहरू पर्ख र हेरको अवस्थामा छन् । दाहाल–नेपाल पक्षले पूर्वमाओवादीका २० सांसदसंगै रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, तुल्सी चौधरी, कमला विक, गुल्मीका कमल श्रेष्ठ, दाङका ईन्द्रजित थारुलगायतलाई आफ्नो पक्षको बताउँदै आएका थिए ।

अहिले यी सबैजनालाई ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ । बाँकी प्रदेशसभा सदस्यहरूले समेत संघीय सरकारमा जे भए पनि प्रदेशमा समीकरण नफेर्ने बताउँदै आएका छन् ।  

थापालाई छोडेर दाहाल–नेपाल समूह​मा 
गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ओली समूहमा लागे पनि लुम्बिनी प्रदेशमा रहेका उनी निकट प्रदेश सभा सदस्यहरू भने दाहाल–नेपाल क्याम्पमा लागेका छन् । उनी निकट मानिने आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले थापाको साथ छोडेका छन् । पूर्वमाओवादीमा थापा निकट रहेका प्रदेशसभा सदस्यहरू आफ्नो समूहमा लाग्ने विश्वास ओली समूहले गरेको थियो । 

तर सभामुख घर्र्ती र मन्त्री केसीलाई जिल्लाका कार्यकर्ताहरूको दवावका कारण थापाको साथ छोडनु पर्ने बाध्यता आइलागेको बताइन्छ । रुकुम र रोल्पाबाट निर्वाचित यी दुवैजना दाहाल–नेपाल समूह छोडदा जिल्लामा आगामी निर्वाचनमा हार हुन सक्ने डरले यस्तो अवस्था श्रृजना भएको बताइन्छ ।

लुम्बिनीमा बामदेवको प्रभाव
औपचारिक रुपमा कुनै गुटमा नभएको बताउदै आएका बामदेव गौतमको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ । गौतम निकट लुम्बिनी प्रदेशका कृषि मन्त्री आरती पौडेल गौतम निकट हुन् । उनको पनि अहिलेसम्म कुनै गुटमा सहभागिता देखिएको छैन । 

बाँकेबाट प्रतिनिधित्व गर्ने मन्त्री पौडेल बामदेवको निर्णयको पर्खाइमा रहेको उनी निकटहरूले बताएका छन् । त्यस्तै लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारु पनि कतै खुलेकी छैनन् । उनी पनि गौतम निकट भएको दाबी गरिएको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x