लुम्बिनी

माघीको रौनकः लुम्बिनीमा दुई दिन सार्वजनिक बिदा

बिक्रम खड्का |
माघ १, २०७७ बिहीबार १२:१७ बजे

बुटवल : थारु समूदायको ठूलो चाड माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ । आज बिहीबार र शुक्रबार बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले बैशाख १० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशभर दुई दिन बिदा दिइएको जानकारी दिए ।

लुम्बिनी प्रदेशमा दाङ, कपिलवस्तु, बाँके, बर्दिया र रुपन्देहीमा माघी मनाउने थारु समूदायको बसोबास धेरै छ । माघे संक्रान्तीमा लाग्ने मेला तथा महोत्सवमा रोक लगाइए पनि लुम्बिनी प्रदेशका थारु बाहुल्य क्षेत्रमा माघी पर्वको रौनक छाएको छ । थारु समुदायले माघीलाई नयाँ बर्षको रुपमा मनाउने भएकाले पनि यसको महत्व झनैं बढेको हो ।


‘माघ’ पर्वको तयारी महिना दिन अगाडिबाटै सुरु हुन्छ । खानाका परिकारहरू पकाउनका लागि काठ, दाउरा,अनदीको चामलको गुलियो जाँड, रक्सी, वनबाट मालु र सालको पात टिपेर ल्याइ दुना, टपरी बनाउने गरिन्छ । यो पहिलो चरणको तयारी हो ।

यस पटक थारु समुदायको मुख्य चाड माघीलाई कोभिड–१९ ले प्रभाव पारेको छ । गाउँमा ठूलो जमघट तथा मेला महोत्सव लगाउन रोक लगाइएको छ । घर परिवारमा स्वास्थ्य सावधानी अपनाएर पर्व मनाउन अनुरोध गरिएको छ । माघीको अघिल्लो दिन आज ‘जिता मार्ना दिन’ अर्थात सुंगुर मार्ने चलन छ । रातभर ढमार गीत गाएर जाग्राम बस्ने परम्परा छ । यो परम्परा नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन ।

माघ १ गते खोला, नदी, तलाउमा स्नान गर्ने, चेलिवेटीको लागी निसराउ(मासको ताल, चामल र नुन’ निकाल्ने गरिन्छ । त्यसपछी सेवा ढोग लाग्ने र आशिर्वाद लिने चलन छ ।

माघ १ गते बाट थारु समुदायमा नयाँ बर्षको सुरुवात हुन्छ । वर्षभरीको पारिवारिक र गाउँको सार्वजनिक योजना बनाउने गरिन्छ । यो प्रचलन अझैं छ ।
परिवारमा छुट्ट भिन्न हुने टुंगो पनि यसैबेला गरिन्छ । गाउँमा अगुवा, कट्कन्दार, भलमन्सा चुन्ने पनि गरिन्छ । यो लोकतन्त्रीक प्रकृया थारु समुदायमा बर्षौं अघीबाट चल्दै आएको छ । अहिले पनि चलिरहेको छ ।

थारु संस्कृतीका अध्ययनकर्ता उदयराज आलेले थारु समुदायको परम्परा मान्ने चलनमा सुधार आएको बताए । ‘परम्परागत रुपमा मान्दै आएको चलनमा केही सुधारहरु आएको छ । सुधार भन्नाले अत्याधिक मादक पदार्थ सेवन र अत्याधिक माछा मासु खाने प्रचलनलाई केही सुधार गरेको पाईन्छ’उनले भने–‘ विगतमा जस्तो दुःख छैन् । जाड रक्सीमा धेरै अन्न खर्च गर्ने चलन थियो । थारु समुदायमा माछा मासु नखाने पूर्ण शाकाहारी अभियान पनि चलेको छ । व्यवस्थीत किसिमले ‘माघ’मान्न थालेका छन् । यो राम्रो हो ।’ रुपन्देहीको थारु बाहुल्य क्षेत्रमा नाचगान तथा  स साना मेलाको आयोजना गरिएको छ । 

यसैविच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले  संविधानले सबै जाति, समुदायका उत्थान र विकासमा जोड दिएको बताएका छन् । माघीपर्वको अवसरमा दिएको शुभकामना सन्देशमा उनले लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुने भएकाले यही मान्यतालाई संवैधानिकरूपमा व्यवस्था गरेर लोकतान्त्रिक प्रणालीको जग बलियो र फराकिलो पारिएको उल्लेख गरे । उनले शुभकामना सन्देशमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीपर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको  बताए । 

उनले मकर सङ्क्रान्ति तथा माघीपर्व विविधतायुक्त नेपाली समाजमा ठूलो पर्वको रूपमा मनाउने गरिएको उल्लेख गरेका छन् । माघीपर्वलाई थारू, मगर, छन्त्याल लगायत अन्य समुदायले निकै महत्वका साथ मनाउँदै आएकाले पर्वको निकै महत्व रहेको उनले बताएका छन् ।  

उनले सरकार सञ्चालनका लागि अनेक अप्ठ्यारा भएपछि बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु स्वाभाविक रहेको जनाउँदै लोकतन्त्रमा चुनाव अनिवार्य शर्त रहेको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन भई मुलुक चुनावी अभियानमा अघि बढेकोले घोषित चुनावलाई सफल बनाउन मिलेर अघि बढ्न  आह्वान समेत गरेका छन् ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x