लुम्बिनी

दुर्घटना कम गर्न ट्रिपरलाई ‘टाइमकार्ड’

भत्ताको प्रलोभनमा चालकले गति बढाउने गरेको आरोप

बिक्रम खड्का |
माघ ५, २०७७ सोमबार १३:५२ बजे

बुटवल : ट्राफिक प्रहरी कार्यालय लुम्बिनीले सडकमा गुड्न ट्रिपरलाई ‘टाइमकार्ड’ दिन थालेको छ । बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुंगा बोकेर सडकमा गुड्ने ट्रिपरका कारण दुर्घटनाको जोखिम बढेको भन्दै टाइमकार्ड लागू गरिएको हो । 

सडकमा सवारी साधनको अत्यन्त भिड रहने विद्यालय र कार्यालय समयमा बजार क्षेत्रमा समेत निर्वाध रुपमा टिप्पर चल्ने गरेका छन् । ट्रिपर चालकले प्रत्येक पटक नदिजन्य पदार्थ बोेक्दा पाउने भत्ताको प्रलोभनमा गति तिव्र बनाउने गरेको आरोप लाग्दै आएको छ । टाइमकार्ड लागू भएपछि ट्रिपर चालकहरू तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुग्‍न पाउने छैनन् । 


पहिलो चरणमा खानीस्थल पाल्पाको दोभानदेखि भैरहवा अञ्चलपुर र बुटवल धागोकारखानासम्म र धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म टाइमकार्ड लागू गरिएको प्रदेश ट्राफिक कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । यसरी तोकिएको समय अनुसार अब दोभानदेखि धागो कारखानासम्म ११ किलोमिटरको दुरीमा प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्रै ट्रिपर चलाउन पाइनेछ । ट्राफिक प्रहरीले ११ किलोमिटरको यो दुरीमा ३३ मिनेट समय तोकेको छ ।
त्यस्तै धागो कारखानादेखि सुनवलसम्म २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ४६ मिनेट समय तोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।

त्यस्तै सबैभन्दा व्यस्त रहने दोभान भैरहवासम्मको २६ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ५६ मिनेट समय तोकिएको छ । यसअघि ट्रिपरलाई तोकिएको टाइमकार्डबाट दुर्घटना न्यूनिकरणमा प्रभावकारी भएकोले अब पनि टाइमकार्ड लागू गरिएको  विकले जानकारी दिए ।

लेन अनुशासन सिकाइँदै 
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्गमा चल्ने सवारी साधनका चालकलाई लेन अनुशासनमा रहेर सवारी चलाउन पनि सिकाउन थालेको छ । लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको यस्तो अभ्यासको सुुरुवात गरिएको हो ।

बेलहिया बुटवल ६ लेन सडकखण्ड अन्तर्गत बुटवल कालिकानगरमा मोटरसाइकल चालकहरुलाई गति अनुसारको लेन अनुशासनमा रही सवारी सञ्चालन गर्न सिकाउन सुुरु गरेको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक बिकले लेन अनुशासन पालना नगर्दा  दुर्घटनाको जोखिम हुने बताए । उनले सडक प्रयोगकर्ता सबैले अनुशासन कायम गरेमात्र जोखिम कम हुने दाबी गरे । 

६ लेन सडक विस्तारसँगै सवारीको चाप बढ्दै गएकोले लेनको प्रयोग अनिवार्य भएको उनको भनाइ छ । पहिलो चरणमा सातासम्म बुटवलदेखि भैरहवासम्मका विभिन्न स्थानमा चालकलाई लेनको प्रयोगबारे जानकारी दिने र कार्यान्वयनमा लैजाने छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x