लुम्बिनी

बाँकेमा प्रहरीको विशेष सुरक्षा योजना

नमस्कार शाह |
कात्तिक १४, २०७७ शुक्रबार १८:१६ बजे

नेपालगञ्‍ज : बाँके प्रहरीले चाडपर्व लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । चाडबाडमा जिल्लाभित्र हुन सक्ने घटना, अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा लागू गरेको हो । 


बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार १४ बुँदे विशेष सुरक्षा योजना लागू गरिएको छ । जसमा पिकेट-३१ स्थानमा, हाइवे चेकिङ-४ स्थानमा, सरप्राइज चेकिङ -१० स्थानमा, एम्बुस चेकिङ-३० स्थान, काउण्टर पार्ट्स सीमा नाकाका- १२ स्थानमा, भिग्रस चेकिङ-१४ स्थानमा र ड्रग स्न्यापिङ आवश्यकता अनुसार स्थापना गरिएको छ ।
 
बिशेष सुरक्षा योजना अनुसार, १० वटा मोबाइल गस्ती, २० वटा पैदल गस्ती, १४ वटा क्‍वीक रेस्पोन्स टिम परिचालन गरिएको छ भने १० जनालाई सीसिटिभी निगरानी, २० जनालाई स्कर्टिङमा र २५ जना सादा पोशाकमा प्रहरी परिचालन गरिएकोछ ।
 
बाँके प्रहरीको यो विशेष सुरक्षाका लागि ६ सय ५० प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक रानाले बताए । जिल्लाको शान्ति सुरक्षा, अमनचयन, सामाजिक सद्‍भाव कायम राख्‍न बिशेष सुरक्षा योजना लागू गरेको प्रहरी उपरीक्षक रानाले बताए ।


प्रहरी प्रधान कार्यालयले कोभिड-१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम प्रत्येक जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै सुरक्षा योजना बनाएर लागू गरेका छन् ।
 
जुवाडेहरु पक्राउ 
बाँके प्रहरीले ठूलो धनराशी सहित १० जना जुवाडेहरुलाई बुधबार पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क क्षेत्रमा रहेको कृष्णप्रसाद वलीको घरबाट जुवा खालमा जुवा खेलिरहेका जुवाडेहरुलाई २९ लाख ४८ हजार ७ सय रकम सहित नियन्त्रणमा लिएको हो । 

सुरक्षा योजनाकै बिचमा हत्याको घटना 
बाँके प्रहरीले १४ बुँदे बिशेष सुरक्षा योजना लागु गरिरहेकै बेला बाँकेको डुडुवा वडानम्वर ३ बनकटवामा एक अवोध बालकको हत्या भएको छ । दशैंकै दिन स्थानीय बिश्राम हरिजनका १२ वर्षीय नाबालक छोरा सुनिल हरिजनको हत्या भएको हो ।
  
कक्षा १ अध्ययनरत सुनिल डुडुवा वडानम्वर ३ बनकटवा गाउँमा रहेको घरबाट बेलुकी घरन नजिकै लगाइएको भण्डारामा गएका थिए । तुरुन्तै फर्किने भनेर गएका उनी फर्केनन् । फोन सम्पर्क गर्दा एकछिनमै आउने बताएपनि उनी घर फिरेनन् । केही समय पछि उनको मोबाइल स्वीच अफ भयो । 

मृतकका काका रामसागर हरिजनका अनुसार, उनको रातभर खोजी भएपनि उनी भेटिएनन् । पछिल्लो दिन बिहान डुडुवा गाउँपालिकाको भवन बनिरहेको बनकट्टी नजिक रहेको तलाउमा उनको शव भेटियो ।


भतिजाको शव क्षतविक्षत अवस्थामा भेटिएको काका राम सागर हरिजन बताउँछन् । अनायसै अवोध बालकको हत्या के, कसरी, कसबाट भयो ? भन्‍ने कुराको आँकलन हरिजन परिवार समेतले गर्न सकेको छैन ।


शब भेटिए पछि प्रहरीले मुचुल्का उठाई पोष्टमार्टम गरी घर परिवारलाई बुझाएको थियो । घटनाका बिषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै बाँके प्रहरी प्रमुख रानाले उनका साथीहरुसँग सोधपुछ गर्नुका साथै केही व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताएका छन् ।
 
गम्भीर प्रकृतिको घटना भएका कारण प्रहरीले संवेदनशिलताका साथ अनुसन्धान गरिरहेको उनले बताए । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै परिवारका सदस्यहरुसहितको टोलीले बाँके प्रहरी प्रमुखसँग भेटेका थिए ।
 


Author

थप समाचार
x