कर्णाली

सुर्खेतका यी बस्ती जसलाई चुनाव जित्न मात्र प्रयोग गरिन्छ

लक्ष्मी भण्डारी |
कात्तिक २४, २०७९ बिहीबार २०:५१ बजे

सुर्खेत- मंसिर ४ नजिकिँदै गर्दा गाउँघरमा विभिन्न दलहरूले घरदैलो अभियानलाई व्यापक रूपमा अघि बढाएका छन् । भोट आफ्नो पक्षमा पार्नका लागि विभिन्न आश्वासनहरू बाँडिरहेका छन् । जब-जब चुनाव आउँछ उम्मेदवारका आँखा सिमान्तकृत बस्तीहरूमा पर्छ । हरेक पाँच वर्षमा उनीहरूले चुनाव जित्न ती बस्तीहरूमा विभिन्न आश्वासन दिन्छन् तर चुनाव जितेपछि कोही ती बस्तीहरूमा फर्कँदैनन् । हरेक पाँच-पाँच वर्षमा चुनाव आउँछ नेताहरू फेरिन्छन् तर, यी बस्तीका अभावका कथाहरू भने फेरिएनन् ।

यस्तै बस्ती मध्येको एक हो राजीगाउँ । सुर्खेतको पञ्चपुरी-९ का राजीगाउँमा आजभोलि दिनहुँ कुनै न कुनै राजनीतिक दलका नेता तथा उम्मेदवारहरू जाने गर्छन् । बस्तीमा पुगेर उनीहरू विभिन्न आश्वासन दिने गर्छन् । तर, चुनाव जितेर गएपछि उक्त बस्तीमा कोही पनि फर्कँदैनन् ।


नदीमा माछा मारेर जीविकोपार्जन गर्ने राजी समुदाय २०२० साल अघिदेखि नै यस क्षेत्रमा बसोबास गर्दै आएको छ । उक्त बस्ती बाढीको जोखिममा छ । पानी पर्दा घर छोडेर अन्यत्रै जानुपर्ने बाध्यता पनि छ । तर, तटबन्धका लागि भने अहिलेसम्म पहल नहुँदा स्थानीयहरू निरास छन् । जथाभाबी रूपमा भेरी नदीमा स्काभेटरको प्रयोग गरेर निकालेपछि बाढी बस्तीसम्मै आउने गरेको स्थानीय मदन राजी बताउँछन् ।

बाढीले स्थानीयहरूलाई उठीबास लगाए पनि नेताहरूको नजर त्यो बस्तीमा पर्दैन । तर, हरेक निर्वाचनमा भने उम्मेदवार र नेताहरू लाइन लागेर आउँछन् यो बस्तीमा । यो गाउँमा राजी, दलित, जनजाति र अन्य गरी करिब १०० घरधुरीको बसोबास छ । जिल्लामा राजी समुदायको बढी संख्या रहेको बस्ती पनि यही हो । 

त्यस्तै मध्येको अर्काे बस्ती हो, वीरेन्द्रनगर ११ को झुप्रा खोलामा रहेको बादी बस्ती । यो बस्तीमा पनि जब जब चुनाव नजिकिन्छ अनि विभिन्न आश्वासन लिएर नेताहरू बस्तीमा आउँछन् तर, निर्वाचन पछि भने उनीहरूले उक्त बस्तीलाई महत्व दिँदैनन् । विपन्न यो बस्तीका स्थानीय बासिन्दासँग लालपूर्जा छैन । खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या छन् । खोला किनारको यस बस्तीमा अभाव र गरिबीले पिरोलेको छ ।

उक्त बस्तीका स्थानीयहरूलाई दैनिक छाक टार्न मुस्किल हुन्छ । खोलाको बालुवा चालेर गुजारा गर्दै आएका यहाँका बादी समुदाय आजभोलि खोलामा बालुवा पाइन छाडेको छ । खोलामा स्काभेटरलगायतका उपकरणहरूले बालुवा निकाल्न थालेपछि उनीहरूको रोजीरोटी नै खोसिएको छ ।

सोही बस्तीका गीता बादी भन्छिन्, ‘नेताहरू भोट माग्न मात्रै आउँछन्, हाम्रा दुःख कहिल्यै देख्दैनन् ।’ ज्यालामजदुरी गर्ने अवस्था नभएकाले साँझविहानको गुजारा चलाउनै मुस्किल छ । अहिले चुनाव आएकाले फाट्टफुट्ट नेताहरू मतदाता रिझाउन यो बस्तीमा जान थालेका छन् । चुनाव आउँदा घरदैलोमै पुगेर समस्या सोध्ने नेताहरू जितेपछि पाँच वर्ष फर्केर नआउने गरेको उनले दुखेसो पोखिन् । 

सुर्खेतकै वडा नम्बर ११ कै बालुवाटार बस्ती पनि सधैं चुनावमा मात्र नेताहरूले सम्झिने बस्ती हो ।

झण्डै पाँच दशकदेखि बसोवास गर्दै आएको यो बस्तीमा पनि अभाव र पीडाको दबदबामा बाँचिरहेका छन् स्थानीय । उनीहरूको बस्तीमा न त सडक, बत्ती पुगेको छ, न त सामान्य उपचार र शिक्षा सहजै पाउन सकेका छन् । यहाँका बासिन्दालाई सधैं पिरोलिरहने पीडा हो– लालपूर्जा ।  लालपूर्जा नहुँदा यहाँका बासिन्दाले आफू बसेको ठाउँलाई आफ्नो भन्न पाएका छैनन् ।

अघिल्लो निर्वाचन ०७४ सालको निर्वाचनमा भोट माग्न आउने नेताले शिक्षा, स्वास्थ्य, रोजगार, सडक सबै पुर्‍याइदिने वाचा गरे । बालुवाटारवासीले पनि भोट माग्न आएका नेतालाई भोट पनि हालेर जिताए । तर, उनीहरूका समस्या ज्यूँकात्यूँ नै छन् । आफूले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व आफ्नो कहिले बन्ला भन्ने पर्खाइमै रहेको उक्त बस्तीका स्थानीय भीमबहादुर गन्धर्वले बताए ।

पटक-पटक आश्वासन मात्र पाएका बालुवाटारवासीलाई यस पटक भने नेताहरूको आश्वासनमा विश्वास छैन । चुनावमा मात्र आफ्नो बस्ती सम्झने नेताहरूलाई भोट नदिने पक्षमा उनीहरू छन् ।


 


Author

थप समाचार
x