कर्णाली

... अनि रोकियो कर्णालीका मन्त्रीहरूको शपथ

कांग्रेसका सांसद भन्छन्- सिनियरको कदर नभएपछि केन्द्रमा उजुरी गरेका हौं

लक्ष्मी भण्डारी |
बैशाख ६, २०८० बुधबार १७:३६ बजे

सुर्खेत।  कर्णालीमा आज दिउँसो तीन बजे हुने भनिएको शपथ ग्रहण रोकिएको छ । मङ्गलवार नेपाली कांग्रेसले सिफारिस गरेका तीन मन्त्रीको शपथ रोकिएको हो । बुधवार दिउँसो ३ बजे मन्त्रीको शपथ भनिए पनि अहिलेसम्म मन्त्रीको शपथ हुन सकिरहेको छैन । प्रदेश प्रमुखको कार्यालयका सचिव भिमराज थानीले अहिलेसम्म शपथका लागि कुनै पत्र नआएको बताए । शपथको लागि कुनै सूचना पनि नआएको बताए । 

कांग्रेसबाट जाजरकोटका बेदराज सिंह, सुर्खेतका खड्गबहादुर पोखरेल र दैलेखका कृष्णकुमार बिसीको नाम मन्त्रीका लागि सिफारिस गरिएको थियो ।


स्रोतका अनुसार कांग्रेसभित्र मन्त्रीको विषयलाई लिएर केन्द्रबाट सिधै मुख्यमन्त्री शर्मालाई शपथ रोक्नका लागि निर्देशन आएको बताइएको छ । कार्यसम्पादन समितिको निर्णयपछि दलका नेता जीवनबहादुर शाहीले अर्थमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसीलाई सिफारिस गरेका थिए । 

मन्त्री छनौटको विषय विधानसम्मत नभएकाले शपथ ग्रहण रोकिएको नाम उल्लेख नगर्ने सर्तमा काँग्रेसका प्रदेशसभा सदस्यले जानकारी दिए । ‘मन्त्री छनौटको विषय विधान सम्मत छैन’ इकागजसँग कुरा गर्दै काँग्रेसका प्रदेशसभा सदस्यले भने, ‘त्यसकारण हामीहरुले केन्द्रीय कमिटीमा उजुरी दिएका हौ ।’ मन्त्री नियुक्तिमा सिनियरको कदर नहुनु नै ठूलो असन्तुष्टिको कारण भएको उनको भनाई छ । 

‘यस विषयमा हामीले केन्द्रीय कमिटीमा मौखिक रुपमा उजुरी दिएपछि पार्टी सभापतिले दलका नेतालाई फोन गर्नुभयो तर, उहाँले फोन पनि उठाउनुभएन’ प्रदेशसभा सदस्यले भने, ‘दलका नेताले फोन नउठाएपछि पार्टी सभापतिले मुख्यमन्त्रीलाई फोन गरेर सपथ ग्रहण रोक्न निर्देशन दिनुभएको हो, पार्टी सभापतिको कुरा नमान्दा पनि यस्तो भएको हो ।’ 

उनका अनुसार पार्टीभित्र सिनियर नेता राजिवविक्रम शाहलाई बेवास्ता गरी दलका नेता शाहीले सिंहलाई सिफारिस गरेका थिए । त्यो कुरा शाह पक्षले पार्टी केन्द्रलाई राखेपछि केन्द्रबाट नै दबाब आएकाले मुख्यमन्त्री शर्माले अहिलेसम्म शपथ कार्यक्रम अघि बढाएका छैनन् । यता कांग्रेसबाट नाम सिफारिस गरिएका मन्त्री भने आफूहरू तयारीमा रहेको तर, अहिलेसम्म कुनै जानकारी नआएको बताउँछन् । यता काँग्रेस संसदीय दलका नेता शाही भने शपथ ग्रहण रोकिएको भन्दै आक्रोशित बनेका छन् । 


Author

थप समाचार
x