कर्णाली

कर्णाली सरकारका एक सय दिन

विश्वासको मत लिन र मन्त्री फेर्न ठिक्क

लक्ष्मी भण्डारी |
बैशाख ९, २०८० शनिबार १७:३५ बजे

सुर्खेत- गएको बिहीबार कर्णाली प्रदेश सरकारका एक सय दिन पुग्यो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकारको नेतृत्व सम्हालेको एक सय दिन पुगे पनि उपलब्धि भने देखिँदैन । जसले गर्दा आम नागरिकमा निराशा छाएको देखिन्छ ।

शर्माले गत पुस २७ गते सरकारको नेतृत्व सम्हालेका थिए । माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धनबाट उनी मुख्यमन्त्री बनेका हुन् । सरकार गठन भएसँगै तीन पटक सरकार विस्तार भयो भने दुई पटक मुख्यमन्त्रीले विश्वासको मत लिएका छन् । 


अब उनले तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने भएको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिँदा दोस्रो पटक विश्वासको मत लिनु परेको थियो । अर्को सत्तासाझेदार दल एमालेले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्मा तेस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका छन् ।

आफू मुख्यमन्त्री बनेको सय दिनमा उनले तेस्रो पटक मन्त्रिपरिषद्लाई विस्तार गर्दै नयाँ सत्तासाझेदार दल नेपाली कांग्रेसलाई सरकारमा ल्याए । यस्तै नेकपा माओवादी केन्द्रबाट राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्मालाई मन्त्रालय फुटाएर मन्त्रीको जिम्मेवारी दिए । सुरुवातमा एमालेका तीन सांसदलाई मन्त्रीको जिम्मेवारी दिएका शर्माले एमालेले समर्थन फिर्ता लिएपछि उक्त ठाउँमा कांग्रेसका तीन जना मन्त्री भित्र्याएका छन् । एक सय दिनको अवधिसम्ममा आउँदा मात्र सरकारले पूर्णता पायो ।

एक सय दिनको अवधिमा आठ पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । मन्त्रिपरिषद्‍बाट भएका निर्णयहरू कागजमै सीमित देखिन्छन् । आर्थिक वर्षको अन्तिम चरणमा आइ पुग्दा सरकार मन्त्रिमण्डल विस्तारमै अल्झिँदा विकास निर्माणका कामहरू भने प्रभावित बनेका छन् । जसका कारण पुँजीगत बजेट खर्च हुन सकेको छैन । त्यति मात्र होइन लामो समयसम्म सरकारले बिजनेश नदिँदा प्रदेश सभा बैठक बस्न सकेन ।

तर, सरकारले भने सय दिनको कार्यकाललाई उपलब्धिपूर्ण मानेको छ । गएको वर्षभन्दा यस वर्ष सरकारको उपलब्धि बढी देखिएको कर्णाली सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए । उनले सरकारको पुँजीगत बजेट खर्चमा समेत वृद्धि भएको बताए ।

दश हजार जनालाई रोजगारी दिने गरी ल्याइएको कार्यक्रम प्रारम्भ भएको, पूर्वाधारको क्षेत्रमा भइरहेका कामहरूमा सरकारले आवश्यक अनुगमनमार्फत प्रभावकारी बनाइएको, संसद्‍मा दुई वटा विधेयक दर्ता गरेको तथा अन्य आवश्यक विधेयक निर्माणको तयारी अन्तिम चरणमा पुगेको लगायतका उपलब्धि भएको दाबी सरकारको छ । राजनीतिक अस्थिरताका बीच पनि सय दिनको कार्यलाई सफलतापूर्वक अघि बढेको जिसीले बताए ।

तीन मन्त्रालयका मन्त्री फेरिनु र दुई मन्त्रालय लामो समयसम्म सचिवविहीन रहँदा समस्या भएको उनले बताए । यद्यपि यी समस्याका बावजुत पनि सरकारले आफ्नो कामलाई निरन्तरता दिएको उनको भनाइ छ । ‘केन्द्रीय राजनीतिको प्रभावका कारण प्रदेशमा मन्त्रीहरू बदलिनु पर्यो, तर प्रदेशमा भने सरकारलाई सबै दलको सहयोग छ,’ प्रवक्ता जिसी भन्छन्, ‘राजनीतिक अस्थिरतामा भए पनि दलहरूको यहाँ विमति छैन ।’

यस आर्थिक वर्ष निर्वाचनको वर्ष भएकाले पनि कर्मचारीहरू त्यता केन्द्रित रहँदा पुँजीगत खर्चलाई वृद्धि गर्न नसकिएको उनको भनाइ छ ।

यता प्रदेश सांसद सन्तोषी शाही भने सरकारका एक सय दिनलाई उपलब्धिविहीन भएको बताउँछिन् । शाहीले पनि मन्त्री फेर्ने र विश्वासको मत लिने मात्र काम गरेको भन्दै एक प्रतिशत जति मात्र प्रगति हासिल गरेको औंल्याइन् ।

‘मन्त्रालय फुटाउन र मन्त्री फेर्नमै सरकार व्यस्त रहेको देखिन्छ,’ उनी भन्छिन्, ‘यस हिसाबले विकास निर्माणका कामहरू कहिले गर्ने र नागरिकका कामहरूलाई कहिले प्राथमिकता दिने त ?’ अहिलेसम्म दुई वटा विधेयक मात्र टेबुल भएका र लामो समयसम्म प्रदेश सभाको बैठक बस्न नसकेको उनको भनाइ छ । 


 


Author

थप समाचार
x