कर्णाली

मृतक बालकका आफन्तद्वारा कर्णाली राजमार्ग अवरुध्द

लक्ष्मी भण्डारी |
मंसिर ३, २०७७ बुधबार १६:४६ बजे

मंसिर : मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्तहरूले कर्णाली राजमार्ग अवरुध्द गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ का तीन वर्षीय बालक समिर नेपालीको दुर्घटनामा परि ज्यान गएपछि आफन्तहरूले प्रदर्शन गर्दै राजमार्ग अवरुध्द गरेका हुन् । 

पीडकलाई कारबाहीको माग गर्दै बालकका आफन्तले सडकमा टायर बालेर कर्णाली राजमार्ग बन्द गरिरहेका छन् । मंगलबार राती साढे पाँच बजे नेपालीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि मृतक बालकका आफन्तले बुधवार बिहानैदेखि कर्णाली राजमार्गअन्तर्गत बाङ्गेसिमलमा टायर बालेर विरोध जनाएका छन् ।


बालकको मंगलबार नै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । बुधवार बिहानदेखि नै आफन्तले टायर बालेर सडक अवरुध्द गरेको घर्तीले बताए । 

बालकलाई ठक्कर दिने मोटरसाइकल र चालकको भने पहिचान हुन सकेको छैन । चालकको हुलिया पत्ता लागेपनि मोटरसाइकल नम्बर पत्ता नलागेको डिएसपी घर्तीले जानकारी दिए । मोटरसाइकल र चालक दुवैको खोजी भइरहेको उनले बताए ।
 


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x