कर्णाली

कर्णालीका तीन मन्त्रीहरूको सम्पत्ति कति छ ?

इकागज |
साउन ७, २०८० आइतबार १४:११ बजे

सुर्खेत- कर्णालीका तीन जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल, अर्थमन्त्री बेदराज सिंह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री नियुक्त भएको तीन महिनापछि तीन मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएको हो ।

तीनै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।  सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार तीन जना मन्त्रीमध्ये अर्थमन्त्री सिंह धनी देखिएका छन् । जाजरकोटको बारेकोटका सिंहसँग पुर्ख्यौली २ वटा घर छन् । चल सम्पत्तिमा उनीसँग २० तोला सुन छ भने १५ तोला चाँदी रहेको छ । सुन विभिन्न स्रोतबाट रु. ५ लाखमा खरिद गरेको उल्लेख गरेका छन् भने चाँदी ५० हजारमा खरिद गरिएको उल्लेख छ । सिंहको नाममा बारेकोट–८ मै ३ रोपनी जग्गा छ । उक्त जग्गा अंश भाग रहेको र बाँकेको कोहलपुर–६ मा १.५ कट्टा जमिन रहेको छ ।


उनले उक्त जग्गा ऋण सापट गरेर जोडेको उल्लेख गरेका छन् । उनीसँग ६० लाख मूल्यपर्ने इसुजु हाइलेण्डर गाडी रहेको छ भने ३२ लाख पर्ने बोलेरो पनि रहेको छ । यस्तै २ लाख ५ हजार बराबरको स्कुटर पनि रहेको उल्लेख गरेका छन् ।

यस्तै उनले ऋण सापट र अन्य स्रोतबाट जाजरकोटमा रहेको लक्ष्मी बैंकमा २ लाख रकम मौज्दात रहेको र एनएमबि बैङ्क सुर्खेतमा सेवा सुविधा बापतको १ लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन् । उनीसँग २ लाख मूल्यका विभिन्न १० वटा मोबाइल पनि रहेका छन् ।

सुर्खेतको सिम्ता निवासी सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलसँग सिम्ता– ६ मा एउटा घर छ, जुन घर पैतृक सम्पत्ति हो । सिम्तामै उनको विभिन्न ९ ठाउँमा जग्गा रहेका छन् । उक्त जग्गा पनि पुख्र्याेली सम्पत्ति नै रहेको उल्लेख गरेका छन् । उनीसँग २५ तोला सुन ६० तोला चाँदी रहेको छ । सुनमा १० तोला ९ लाख ५० हजारमा खरिद गरिएको र बाँकी पैतृक सम्पत्ति र चाँदी ३५ तोला ४० हजारमा खरिद गरिएको र बाँकी पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । उनीसँग लक्ष्मी बैङ्क सुर्खेतमा १ लाख ७० हजार रकम मौज्दात छ । 

उक्त रकम तलब र कृषि पेसाबाट आर्जन गरेको उल्लेख गरेका छन् । उनले १ भैँसी र ३० वटा कुखुरा पालन गरिरहेका छन् । साथै उनीसँग २५ हजारको मोबाइल, ४० हजारको टिभी २८ हजारको फ्रिज र २५ हजारको घडी रहेको उल्लेख गरेका छन् । उक्त सामाग्री विभिन्न ठाउँबाट खरिद र उपहार आएको उल्लेख गरेका छन् । 

त्यसैगरी उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीसँग वीरेन्द्रनगरका दुई  ठाउँमा घर छ । दैलेख गुराँस गाउँपालिका–६ निवासी मन्त्री विसीका तीन हजार ७ सय ८० वर्ग मिटर क्षेत्रफलमा घर रहेका उल्लेख छ । त्यो सबै पुख्र्याेली सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् ।

यस्तै उनीसँग विभिन्न ६ ठाउँमा जग्गा जमिन रहेको छ ।  उनको नाममा गुराँस गाउँपालिका–६ मा तीन ठाउँमा र वीरेन्द्रनगरका दुई ठाउँमा घडेरी रहेको छ । त्यसको स्रोत पनि उनले पैतृक सम्पत्ति नै उल्लेख गरेका छन् । उनीसँग १५ तोला सुन, ३० तोला चाँदी र १५ केजी तामा रहेको छ । उनको तीन वटा बैंकमा गरी ४ लाख २ हजार बराबर रकम मौज्दात रहेको छ । साथै उनीसँग त्यो भन्दा बढी ऋण रहेको उल्लेख गरेका छन् । 

राष्ट्रिय वाणिज्य बैङ्कबाट उनले २० लाख ऋण लिएको र अहिलेसम्म ११ लाख ऋण तिरेको उल्लेख छ । यस्तै एनएमबि बैकबाट पनि उनले २० लाख नै ऋण लिएका थिए । त्यसमध्ये अहिलेसम्म १ लाख बराबर ऋण तिरिसकेका छन् भने बाँकी उनीसँग २८ लाख ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।


Author

थप समाचार
x