कर्णाली

सुर्खेतमा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन

इकागज |
साउन १०, २०८० बुधबार १५:४४ बजे

सुर्खेत । भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमप्रति समर्थन जनाउँदै सुर्खेतमा बृहत् नागरिक हस्ताक्षर अभियानको सञ्चालन गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन, योङ्ग कम्युनिष्ट लिग नेपाल सुर्खेत कमिटीको आयोजनामा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । अभियान तीन दिनसम्म सञ्चालन गर्ने जनाइएको छ ।

‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर’ भन्ने मूल नाराका साथ कार्यक्रम सुरु गरिएको छ । कार्यक्रममा सहभागी माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले वर्तमान सरकारले सुशासनका क्षेत्रमा महत्वपूर्ण कदम चालिरहेको भएपनि सबैको साथ पाउन नसकिएको बताए । भ्रष्टाचार नियन्त्रणसँगै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सबैको सहयोग आवश्यक रहेको उनले भनाई थियो । उनले वर्तमान सरकारले गरिरहेका कामको विरोध गर्नमा अग्रसर भइरहेको भन्दै आपत्ति जनाए । ‘भ्रष्टाचारीलाई पूर्ण कारबाहीको दायरामा ल्याउनुपर्छ, नेपालबाट भ्रष्टाचार पूर्ण रुपमा निर्मूल पार्नुपर्छ,’ मल्लले भने, ‘यसमा सबैको साथको आवश्यकता छ ।’ भ्रष्टाचार विरुद्धका अभियानमा तीनवटै तहका सरकारका प्रतिनिधिहरु लाग्नुपर्ने उनको भनाइ छ ।


मंगलबारदेखि थालिएको अभियानको पहिलो दिन एक सय ५० जना भन्दा बढीले भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरे । आज र भोली पनि हस्ताक्षर अभियान कायम रहने अखिल क्रान्तिकारी सुर्खेतले जनाएको छ । 
 


Author

थप समाचार
x