कर्णाली

पालिकाले मनपरी बजेट छुट्याएको भन्दै ११ जना वडाध्यक्षद्वारा अदालतमा रिट

इकागज |
साउन १५, २०८० सोमबार १६:१४ बजे

सुर्खेत- कालिकोटको खाडाँचक्र नगरपालिकामा मनपरी बजेट विनियोजन गरेको भन्दै ११ जना वडाध्यक्षहरूले विरोध जनाएका छन् । उनीहरूले जनप्रतिनिधि र कर्मचारी पोस्ने बजेट ल्याएको भन्दै ११ जना वडाध्यक्षले उच्च अदालत सुर्खेत, इजलास जुम्लामा रिट दायर गरेका छन् । नगरपालिकाले पदाधिकारी भत्तामा मात्रै झण्डै २ करोड बजेट विनियोजन गरेपछि वडाध्यक्षहरू अदालत पुगेका हुन् ।

बस्ती स्तरबाट आएका योजनामा भन्दा पनि कर्मचारी र जनप्रतिनिधिहरूलाई पोस्ने गरी बजेट छुट्याइएकाले विरोध जनाएको खाँडाचक्र नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष कविन्द्रबहादुर शाहीले जानकारी दिए । ‘बजेट भाषणमा एउटा र पछि वेबसाइटमा राख्दा फरक थियो,’ उनले भने, ‘त्यही भएर हामीले अदालतमा रिट दायर गरेका हौं ।’ पालिकाले विलासितामा बजेट छुट्याएकाले सबै वडाध्यक्षहरूले विरोध जनाएको उनले बताए । मेयरले मनपरी गरेको वडाध्यक्ष शाहीको भनाइ थियो । 


आफूहरूसँग छलफल नै नगरी एकल रूपमा बजेट ल्याएकाले मुद्दा दायर गरेको खाडाँचक्र नगरपालिकाका–४ का वडाध्यक्ष प्रमानन्द आचार्यले बताए । गत आर्थिक वर्षको दायित्वमध्ये १ करोड ३२ लाख ऋण तिर्नुपर्नेमा अहिले सम्झौताबिनाको मनपरी ढङ्गबाट ६ करोड १५ लाख बढीको बजेट ल्याएको उनको भनाइ छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ५६ करोड ६५ लाख ५८ हजार ३२९ रुपैयाँको बजेट ल्याएको छ । जसमा पदाधिकारीको भत्ता तथा अन्य सुविधाका लागि १ करोड ६५ लाख ३५ रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले पदाधिकारी बैठक भत्ताका लागि मात्रै ९३ लाख बजेट ल्याएको छ, भने स्थानीय भत्तामा ३५ लाख रुपैयाँ छुट्याएको छ । यस्तै, पोसाक भत्ता ७ लाख, महंगी भत्तामा ११ लाख, पदाधिकारी भत्तामा २ लाख ३५ हजार, अन्य १ लाख, फिल्ड भत्ता १४ लाख र कर्मचारी भत्तामा २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कर्मचारी तथा जनप्रतिनिधिहरूले मात्रै पाउने अन्य सेवा सुविधामा पनि करोड बढी रकम विनियोजन गरिएको छ ।

यता नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले वडाध्यक्षहरूले लगाएको आरोप झुट रहेको बताएका छन् । ‘चित्त बुझेन र रिट दर्ता गराएका छन्,’ उनले भने, ‘अब उनीहरूको चित्त बुझाउनुपर्ला ।’
 


Author

थप समाचार
x