कर्णाली

जाजरकोटमा अख्तियारको टोलीमाथि किन भयो आक्रमण ?

इकागज |
भदौ २३, २०८० शनिबार १२:३३ बजे

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकोटमा आक्रमण भएको छ । स्थानीय युवाहरुले उक्त टोलीमाथि आक्रमण गरेको हो । 

जाजरकोटको भेरी नगरपालिका वडा नं. ५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको अख्तियारको टोलीमाथि स्थानीयले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । आक्रमणबाट एक जना घाइते भएका छन् । 
अख्तियारबाट पाँच जनाको टोली निरीक्षणका लागि जाजरकोट गएको र आक्रमण हुँदा चालक मानबहादुर ठाडा मगर घाइते भएका जिल्ला प्रहरी कार्यालय


जाजरकोटका प्रमुख डीएसपी सन्तोष रोकाले बताए । उनका अनुसार अख्तियारको टोलीमाथि शुक्रबार आक्रमण हुँदा गाडी चालक मानबहादुरलाई स्थानीयले मुक्का हानी घाइते बनाएका छन् । उनको स्वास्थ सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ । उनी वीरेन्द्रनगर नगरपालिका–११ का हुन् ।

‘अख्तियारको टोली वडा कार्यालयमा अनुगमन गरिरहेको थियो, त्यहाँ मुचुल्का उठाउने कामहरु गरिरहेको समयमा मापसे गरेका युवाहरु गएर उनीहरुमाथि के गरिरहेका छौ भन्दै धक्का दिए’ डिएसपी रोकाले भने ‘मापसे गरेका युवाहरु अख्तियारको टोलीमाथि आक्रमण गरेका हुन् ।’ आक्रमणमा  संलग्न सोही ठाउँका स्थानीय वीरेन्द्र चन्द, किरण शाही, चक्रबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।


 


Author

थप समाचार
x