कर्णाली

जाजरकोटमा जलवायु स्मार्ट कृषिका लागि जापान र यूएनडिपीको सहकार्य

इकागज |
चैत ६, २०८० मंगलबार १५:२७ बजे

काठमाडौँ- कर्णाली प्रदेशको नलगाड नगरपालिका वडा नं ७ मा दुई प्रकारको पोलीहाउसको उद्घाटन गरिएको छ ।

जापान सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले संयुक्तरुपमा उक्त पोलीहाउसको उद्घाटन गरेका संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


उद्घाटन गरिएको पोलीहाउसमध्ये एक प्राकृतिक रूपमा हावा चल्ने र अर्को मिष्टिङसहितको नर्सरी पोलीहाउस रहेको छ ।

बहुउद्देश्यीय नर्सरीले त्यहाँका स्थानीय तथा समुदायका लागि तरकारी, फलफूल जस्ता उच्च मूल्यका बालीका बिरुवाहरू उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

उक्त नर्सरीले किसान समूहका २५ सदस्य र समुदायका अन्य स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुर्याउने जापान सरकार र यूएनडिपीको विश्वास छ । सो क्षेत्र नोभेम्बर २०२३ मा आएको भूकम्पबाट प्रभावितहरू मध्येको एक पनि हो ।

पोलिहाउसहरूले ड्रिप सिँचाइ र मिस्ट सिँचाइ प्रयोग गर्छन् जसले पानीको कम उपयोग, पानीको उपयोग संरक्षण, श्रममा कमी र कृषि उत्पादकत्व वृद्धि गर्छ ।

प्राकृतिक रूपमा हावाबाट चल्ने पोलीहाउसले बेमौसमी उच्च मूल्यको तरकारी उत्पादन गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

यसका साथै भूकम्पबाट प्रभावित स्थानीय किसानलाई जीविकोपार्जनका लागि ९ सय मध्ये पहिलो ५ वटा धातुको सुधारिएको चुलो र ६ वटा फलफूल व्यवस्थापन औजार समेत हस्तान्तरण गरिएको थियो ।

‘स्थानीय जलवायु कार्यबाट मानव सुरक्षा अभिवृद्धि’ परियोजना मार्फत ४८ वटा पोलीहाउसलाई सहयोग गरिएको छ, जसबाट ४० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जापानी दूतावासका डेपुटी चिफ अफ मिसन ताकाहिरो तामुराले हस्तान्तरण गरिएका कृषि र ऊर्जा उपकरणहरू सो क्षेत्रका जनताले लामो समयसम्म प्रयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले उक्त परियोजनाले लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशी समावेशी व्यापक दृष्टिकोण मार्फत मानव सुरक्षा सुदृढ गर्न योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरे ।

यूएनडिपीका डेपुटी रेसिडेन्ट रेप्रेजेन्टेटिभ जुलियन चेभिलार्डले उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली यूएनडीपीको प्राथमिकतामा रहेको प्रदेश बताउँदै उनले सुशासनदेखि भूकम्पको पूर्वतयारी र प्रतिकार्यसम्मका धेरै परियोजनाहरू 'लिभ नो वन बहाइन्ड' को आधारमा कार्यान्वयन भइरहेको बताए ।

जापान सरकार र यूएनडिपीलाई धन्यवाद दिँदै नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावतले नलगाडवासीहरूको लागि कृषि नै प्राथमिक जीविका भएको र कृषि उपकरण सहयोगको व्यवस्थाले भूकम्पपछिको जीविकोपार्जनमा पीडित समुदायलाई सहयोग पुगेको बताए ।


Author

थप समाचार
x