कर्णाली

कँडेलको चेतावनी : ‘एमालेका सांसदलाई कसैले राख्‍ने अधिकार छैन’

पुर्नबहाली भएका चार जना सांसदलाई प्रतिपक्षको सिटमा बस्‍न आग्रह

लक्ष्मी भण्डारी |
जेठ ३१, २०७८ सोमबार १७:१८ बजे

सुर्खेत : नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पुर्नबहाली भएका एमालेका चार जना सांसदलाई प्रतिपक्षको सिटमा बस्न आग्रह गरेका छन् । अदालतले पुर्नबहाली गरिसकेकाले एमालेका सांसदहरू प्रतिपक्षमै बस्नुपर्ने कँडेलले बताए । सोमबार कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै नेता कँडेलले यस्तो बताएका हुन् । 

सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले 'चार जना सांसदलाई पुर्नबहाली गर्नू' भन्ने व्यहोराको पत्र प्रदेशसभामा सुनाएपछि एमालेका सांसदहरू प्रतिपक्षको सिटमा बस्नुपर्ने कँडेलको भनाइ छ । सभामुख शाहीले प्रदेशसभा बैठकमा प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही पुर्नवहाली भएको व्यहोराको पत्र पढेर सुनाएपछि कर्णाली प्रदेशसभामा नेकपा एमालेका सांसदहरूको संख्या फेरि २० पुगेको छ । 


‘एमालेका सांसदहरूलाई कोही–कसैले राख्ने अधिकार छैन । तर, राखिरहनुभएको छ’ कँडेलले भने, ‘सभामुखले पत्र पढेसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलले एमालेको सांसद लिएर सरकार चलाउने कुरा मान्य हुने छैन ।’ संसदीय अभ्यासका आधारबाट संसदलाई कारबाही अघि बढाउने हो भने एमालेका माननीय सदस्यलाई कोही कसैले राख्ने अधिकार नरहेको उनको भनाइ छ । 

‘थिति बिगार्ने गरी कर्णाली प्रदेशमा छलफल भएको छ । तसर्थ, जो सडकमा भेटिन्छन् त्यसैलाई झण्डा हल्लाउँदै सरकार बनाउने हो भन्ने हाम्रो भन्ने केही छैन’ कँडेलले भने, ‘एमालेका सांसदलाई राखेर सरकार चलाउने मान्य हुने छैन ।’ नेकपा एमालेको सभाभित्र अब २० जना पुगेको उनले बताए । 

‘सभाभित्रको संख्यामा फेरबदल भएको छ । छलफलको विषय रोक्नुपर्ने हो । तर, छलफल चलाउन हामी समस्याको समाधान चाहन्छौं’ उनले भने,  ‘हामी केही समय पर्खिन्छौं । सदन अवरुद्ध गर्ने हाम्रो चाहना छैन ।’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन फ्लोर क्रस गरेका उनीहरूलाई एमालेले कारबाही गरेको थियो । 


Author

थप समाचार
x