कर्णाली

सिक्दासिक्‍दै जो मालिक बनिन्

लक्ष्मी भण्डारी |
असार ५, २०७८ शनिबार ८:२९ बजे

सुर्खेत : वीरेन्द्रनगरकी तेजकुमारी चन्दलाई केही वर्षअघि एउटा कपडा सिलाउने मेसिनको लागि आफन्तलाई गुहार्नुपर्‍यो । आर्थिक अभावका कारण सिलाइ मेसिन जुटाउन आफन्‍त गुहारेकी तेजुले अहिले भने सात महिलालाई रोजगारी दिएकी छिन् । उद्योगको मालिक बनेकी छिन् । वीरेन्द्रनगर-८ रहेको तेजु सिलाई कटाई ट्रेनिङ सेन्टर एण्ड गार्मेन्ट उद्योगमा आर्थिक अवस्था कमजोर भएका महिलाले रोजगारसमेत पाएका छन् ।

कलिलै उमेरमा तेजुको विवाह हुँदा ९ कक्षा पास थिइन् । उनीसँग कुनै सीप थिएन । आर्थिक अवस्था कमजोर भएकाले उनलाई कसरी घरखर्च जुटाउने भन्‍ने मात्र पीर थियो । ‘पढाईलाई पूरा गरौँ भने पनि पैसा थिएन, कुनै व्यवसाय गर्नलाई पनि पैसा चाहिने’ तेजु भन्छिन्, ‘यो अवस्थामा कुनै सीप सिक्नु नै राम्रो होला भन्‍ने लाग्यो र निर्णय गरेँ ।’ 


उनले गाउँमा सिलाइकटाईको तालिम दिँदैछ भन्‍ने थाहा पाएपछि तालिम  लिइन् तर, मेसिन किन्‍नलाई पैसा भएन । ‘आफन्तको मेसिन ल्याएर कपडा सिलाउन सिकेँ र कपडा सिलाउँदै गर्दा मेसिन किन्‍न सक्ने भएँ’ उनी भन्छिन् , ‘सिलाइकटाईबाटै व्यवसायलाई बढाउँदै लगेँ ।’ सिलाइकटाई व्यसायसँगै उनले आफ्नो रोकिएको पढाईलाई अगाडि बढाइन् । उनले आइएड पास गरिन् । 

सिलाइकटाईसँगै उनले गत वर्षदेखि गार्मेन्ट उद्योग पनि सञ्चालनमा ल्याएकी छन् । वीरेन्द्रनगर नगरपालिकाको दुई लाख र आफ्नो दुई लाखको सहयोगमा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएपछि मासिक ५० हजारसम्मको कारोबार भएको उनले बताइन् । ‘सिलाईकटाईसँगै गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएपछि राम्रो आम्दानी भएको छ’ उनले भनिन्, ‘अहिले बेरोजगार भएर बसेका महिला दिदिबहीनीलाई पनि उद्योगबाट रोजगारी दिएको छु ।’

गार्मेन्ट उद्योगमा बच्चाको लागि न्यानो कपडा, लेगिज, एप्रोन पेटिकोट, कुर्तासुरुवाल, मास्‍कलगायतका कपडाहरू तयार गरिन्छ । यतिमात्र होइन कोभिड महामारीको समयमा भएको लकडाउनको बेलामा आफूले तयार गरेका मास्क निःशुल्क वितरणसमेत गर्दै आएकी छन् । लकडाउनको समयमा समेत उनलाई खाली हात बस्‍नु पर्दैन । तेजुले  विभिन्‍न कपडा र मास्क तयार गर्दै आएकी छन् । त्यसैगरी अहिले उनले सिलाईकटाई ट्रेनिङ सेन्टर समेत सञ्चालनमा ल्याएकी छन् । उनी भन्छिन्, ‘हातमा सीप भएपछि बेरोजगार हुनु पर्दैन ।’ तेजुलाई यही उद्योगलाई बढाउने चाहना छ । जसको लागि उनले आफ्नो छोरीलाई डिजाइनर पढाउँदै छिन् । 

वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको महिला स्वरोजगार कार्यक्रम अन्तर्गत तेजुजस्तै नगरका अन्य महिलाहरू पनि उद्यम गर्न थालेका छन् । महिलाको आर्थिक आयआर्जनको क्षेत्रमा सफलता हासिल गरेको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । 

‘महिला स्वरोजगार अन्तर्गत गार्मेन्ट उद्योग, सिलाइकटाई, अटोरिक्सा तालिम सञ्चालन गरेका थियौँ’ ढकालले भनिन्, ‘तालिमसँगै महिला दिदिबहिनीलाई व्यवसाय सञ्चालनको लागि अनुदान पनि दिएका छौँ ।’ महिला स्वरोजगार कार्यक्रमले महिलाहरू आत्मनिर्भर भएको नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख सरला रेग्मीको भनाइ छ ।


Author

थप समाचार
x