कर्णाली

विपदबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले दुई लाख दिने

लक्ष्मी भण्डारी |
मंसिर २१, २०७७ आइतबार १८:४१ बजे

सुर्खेत : कर्णाली सरकारले प्राकृतिक विपद्का घटनाबाट मृत्यु भएका परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराउने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विपद्बाट मृत्यु भएका २३ परिवारलाई ४६ लाख रकम दिने निर्णय गरेको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको स्वीकृत बजेट अन्तरगतको दुर्घटना उद्धार कार्यक्रम संसोधन गरेर राहत रकम दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । 


प्रति परिवार दुई लाखका दरले राहत रकम उपलब्ध गराइने मन्त्री केसीले बताइन् । कर्णालीमा विभिन्न समयमा आगलागी तथा बाढी पहिरोजस्तो प्राकृतिक विपद्बाट ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराइने छ ।

उक्त राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मृतकको यकिन गरेर दोहोरो नपर्ने गरी राहत सुविधा उपलव्ध गराइने मन्त्री केसीले जानकारी दिइन् । 
यस्तै, बैठकले भवन निर्माण र पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माणको लागि तीन करोड ९३ लाख, प्रहरी संरचना निर्माणमा पाँच करोड र प्रहरी तालिम केन्द्र निर्माणमा एक करोड बजेट कर्णाली प्रदेश प्रहरी कार्यालयलाई अख्तियारी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 
 


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x