कर्णाली

कर्णालीमा नेता फकाउँदै एमाले र एकीकृत समाजवादी

लक्ष्मी भण्डारी |
भदौ १६, २०७८ बुधबार १४:१० बजे

जिल्ला दोडाहमा निस्किएको उक्त टोली सुर्खेतमा छलफलमा सहभागी हुँदै ।

सुर्खेत - नेकपा एमाले विभाजन भइसकेपछि कर्णालीमा एमाले र समाजवादीका नेता आ-आफ्नो पक्षमा नेता तथा कार्यकर्ता पार्नको लागि लागि परेका छन् । सांसद तथा नेतालाई आफ्नो पक्षमा पार्न फकाउने प्रयास गरिरहेका छन् । 

एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी)तिर सांसदहरू खुल्ने क्रम जारी छ ।  निर्वाचन आयोगले भदौ २२ सम्म एमाले छाड्ने समय दिएपछि प्रदेश सांसदहरूले नवगठित नेकपा (एस) रोज्ने क्रम मंगलबारदेखि सुरु भएको छ । कर्णाली प्रदेश तीन जना सांसद भने समाजवादीमा खुलिसकेका छन्। प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम),  मुगुका चन्द्रबहादुर शाही र  जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् ।


दल रोज्ने समय छुट्याएको यस समयमा ठूला नेताहरू भने जिल्ला दौडाहमा लागि परेका छन् । एमालेका उपाध्यक्ष एंव प्रदेश संयोजक युवराज ज्ञवाली, सहसंयोजक यामलाल कँडेलल, एमाले नेता गोरख बोगटीगायतको टोली जिल्ला दौडाहमा लागेका छन् । उक्त टोलीले मंगलबार सुर्खेतका पत्रकारहरूसँग भेटघाट गरी नयाँ पार्टी खोलेर माधव नेपालले गल्ती गरेको टिप्पणी गरेका थिए । प्रदेश संयोजक ज्ञवालीले नेपालले स्थायी कमिटी बैठक नबसालेरै अचानक पार्टी दर्ता गरेको आरोप लगाए । माधव नेपालसहितको एमाले एकता गर्न चाहे पनि नेपालले ओलीसँग मिलेर बस्न नचाहेको टिप्पणी गरे । 

उक्त टोली आज(बुधवार) दैलेख जिल्लामा आयोजित एमालेको भेलालाई सम्बोधन गर्न पुगेका छन् । उक्त टोली कर्णालीमा अन्य जिल्लामा पनि जाने बताइएको छ । त्यसैगरी एकीकृत समाजवादीका नेताहरू पनि आन्तरिक रूपमा संगठन विस्तारमा जुटेका छन् । सांसद तथा एमालेका नेताहरूलाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् । 

अहिलेसम्म देवी वली र चन्द्र शाही एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । गत निर्वाचनमा एमालेबाट २० जना निर्वाचित भएका थिए । त्यसमध्ये ४ जना फ्लोर क्रसको आरोपमा एमालेले कारबाही गरेपछि पदमुक्त भएका छन् । बाँकी १६ मा २ जना नेकपा एकीकृतमा जाँदा एमालेको सांसद संख्या १४ मा झर्नेछ । हाल ३५ सदस्यीय प्रदेश सभामा माओवादीको १२, कांग्रेसको ६ र राप्रपाको एक सांसद छन् । कर्णालीमा शुरुवातदेखि  नै माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ ।


Author

थप समाचार
x