कर्णाली

राप्रपाका एक्ली सांसद

संसद बैठकमा ४५ मिनेट उभिएरै प्रदेशसभाबाट फर्किइन् सोशिला

लक्ष्मी भण्डारी |
माघ १६, २०७८ आइतबार १६:२४ बजे

सुर्खेत- कर्णाली प्रदेशसभा बैठकमा राप्रपाकी सांसद सोशिला शाही ४५ मिनेट उभिएरै प्रदेशसभाबाट बाहिरिरेकी छन् । प्रदेश सभाको नवौं अधिवेशनको तेस्रो बैठकमा राप्रपाकी सांसद सोशिला आफूलाई सिटको व्यवस्था नगरिएको भन्दै संसदबाट बाहिरेकी हुन् । 

उनले  बैठकको सुरुमै सदनमा उठेर आपत्ति जनाएकी थिइन् । तर प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलका नेता यामलाल कँडेलले बोल्न थालेपछि उभिरहेकी थिइन्। कँडेलले बोलेर सकेपछि उनलाई सभामुख राजबहादुर शाहीले बोल्न पालो दिए । ‘मेरो दलले संसदमा स्थान पाउने कि नपाउने ?’ उनी भन्छिन्, ‘हामीलाई पनि कुनै न कुनै स्थानमा राखिनुपर्ने हो ।’ उनले पहिले संसदमा एकजुट भएर अघि बढ्ने भनिएपनि त्यसो हुन नसकेको बताइन् ।


‘सत्ता पक्ष हुन्छ प्रमुख प्रतिपक्ष हुने प्रतिपक्ष हुने कि नहुने ?’ उनले भनिन्, ‘राप्रपालाई दलको मान्यता दिएपछि बस्ने सिट पनि हुनुपर्छ ।’

सानो दल भनेर विभेद भएको उनको भनाइ थियो । ‘चार दल हुनुहुन्छ राम्रोसँग काम अघि बढाउनुहोस्’ प्रदेशसभाबाट बाहिरिने बेला शोसिलाले भनिन्, ‘अब म जान्छु आवश्यक परेमा बोलाउनुहोला ।’

सांसद शाहीले अन्य दलजस्तै आफ्नो दललाई अगाडि स्थान नदिएको प्रति आपत्ति जनाइन् । त्यसपछि उनले भनिन, ‘सचिवालयले व्यवस्था गरेको हो की ? महिले सीटकै लागि लडाइँ गर्न खोजेको होइन ? तर सानो दल भनेर किन हेला गरिन्छ ? उनको तर्क थियो ।

‘कहिले अगाडि बसालिन्छ, कहिले पछाडि बसालिन्छ। किन एकै ठाउँमा बस्ने व्यवस्था नभएको होला’ शाहीले भनिन्, ‘राप्रपाबाट म मात्र एक्लो सांसद भएर विभेद भएको होला जस्तो लाग्छ।’ महिला भएकै कारण संसदबाटै विभेद भएको उनको भनाइ छ। ‘प्रदेशसभाका अघिल्ला बैठकहरुमा अगाडि बसालिएको थियो र पछि पछाडि बसालियो’ उनले भनिन्, ‘अहिले आएर फेरि कहिले अगाडि कहिले पछाडि हुन्छ निश्चित ठाउँ हुँदैन ।’ प्रमुख प्रतिपक्षि दल नभएपनि प्रतिपक्षि दलको रुपमा सहभागिता जनाएकोले त्यो अनुसारको व्यहार हुनुपर्ने उनको भनाइ छ।
 


Author

थप समाचार
x