सुदूरपश्चिम

सुदूरपश्‍चिममा माओवादीभित्रको विवाद छताछुल्ल, दाहालमाथि खनिए नेता-कार्यकर्ता

नवराज पनेरु |
जेठ १५, २०७८ शनिबार १४:९ बजे

धनगढी: केन्द्रको ठाडो निर्देशनमा शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गरेकोे भन्दै माओवादी केन्द्रका नेता–कार्यकर्ताले नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । प्रदेश कमिटी र संसदीय दलको भावनाविपरीत मन्त्रिपरिषद् पुर्नगठन गरिएको भन्दै नेता–कार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहालमाथि खनिएका हुन् । 

शुक्रबार माओवादी केन्द्रबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी र मानबहादुर सुनार राज्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्र सुदूरपश्चिमका सहइञ्चार्ज खगराज भट्टले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियाप्रति असन्तुष्टी जनाएका छन् । भट्टले सुदूरपश्चिमलाई हेप्ने मामलामा सबै पार्टीका नेताहरू उस्तै रहेको बताउँदै फेसबुकमा लेखेका छन्, ‘मन्त्रिमण्डलमा नियुक्त सबै साथीहरू योग्य र बधाईका पात्र छँदैछन् । उहाँहरूलाई सफलताको शुभकामना । तर विधि, पद्धतिको नौटंकी र सुदूरपश्चिमलाई हेप्ने मामलामा कुनै पनि पार्टीका शीर्ष नेताहरू कोहीभन्दा कोही कम रहेनछन् ।’


सुदूरपश्चिमको पार्टी नेतृत्वलाई ‘जोकरफाल्तु’ बनाइएको आरोप उनको छ । मन्त्रिपरिषद् पुनर्गठन हुँदै गर्दा उनले भनेका थिए, ‘सुदूरपश्चिमको पार्टी नेतृत्वलाई जोकरफाल्तु बनाएर यहाँको पार्टी र संसदीय दलको चहाना र भावनालाई लत्याउदै केन्द्रले लादेर गर्न लागेको प्रदेश मन्त्रिपरिषद पुनर्गठन प्रक्रियाप्रति खेद व्यक्त गरौं ।’ 

भट्ट सुदूरपश्चिममा माओवादी केन्द्रका प्रभावशाली नेता हुन् । उनी काँग्रेस सभापति शेरबहादुर देउवासँग तीन पटक चुनाव लडेका थिए । तीनै पटक उनी पराजित भएका थिए । पूर्वसांसद तथा पार्टीकी केन्द्रीय सदस्य मन्जु बमले माओवादी केन्द्रका अध्यक्ष दाहालमाथि आक्रोश पोखेकी छिन् । ‘कमरेड प्रचण्ड अब त निन्द्राबाट बिउँझनुस । तपाई कसको बैशाखीमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ ? निश्चित पनि सुदूरपश्चिमको पार्टी इन्चार्जविहीन हुँदा तपाईं नै सुदूरपश्चिप प्रदेश ईन्चार्ज हो,’ उनले लेखेकी छन्, ‘यहाँको पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने इमान्दार कार्यकर्तालाई किनारा लगाएर बारम्बार वरिपरि परिक्रमा गर्ने एक दुईजनाले भनेको भरमा पार्टी चलाउने कि अधिकांश नेता कार्यकर्ताको पनि सुझाव लिने ? तपाईले सुदूरपश्चिमलाई हदैसम्म हेप्नु भयो ।’ 

उनले विगतमा लेखराज भट्टको कुरा सुनेर एकलौटी निर्णय गरेको र इमान्दार कार्यकर्ताको कत्लेआम गरेको भन्दै अहिले बुहारीका कुरा मात्रै सनेको आरोप लगाएकी छिन् । ‘एक दिन अवश्य पछुताउनु पर्नेछ । जुन दिन निकै ढिलो भइसकेको हुनेछ । भीरबाट हाम फाल्नेलाई राम राम त भन्न सकिएला तर काँध थाप्न त सकिँदैन,’ उनले अगाडि लेखेकी छिन् । माओवादी नेतृत्वको सरकार रहेको सुदूरपश्चिममा माओवादी केन्द्रभित्र पनि एमालेबाट निष्कासित भीम रावलको निर्देशन चल्दै आएको आरोप केही नेताको छ । 

सुदूरपश्चिमको मन्त्रिपरिषद्मा अब माओवादी केन्द्रका मुख्यमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री छन् । सुरुवातदेखि नै मुख्यमन्त्रीका दावेदार रहेका कैलालीका सांसद विरमान चौधरी र प्रत्यक्ष निर्वाचित सुदूरपश्चिमकी एक्ली महिला सासंद देवकी मल्ललाई मन्त्रिपरिषद् पुर्नगठनमा छुटाएको भन्दै अधिकांश नेता कार्यकर्ता रुष्ट देखिएका हुन् ।


Author

थप समाचार
x