सुदूरपश्चिम

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार भनिएका राना पक्राउ

नवराज पनेरु |
पुस १३, २०७७ सोमबार १२:१४ बजे

धनगढी : कैलालीको धनगढीमा दुई प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका–१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरी हत्याका मुख्य योजनाकार भनिएका शुकबहादुर भन्ने अमर राना पक्राउ परेका हुन् । 

उनी धनगढी उपमहानगरपालिका– १० का ३४ वर्षीय युवक हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले उनलाई धनगढी उप महानगरपालीक–१९ फुलबारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए ।


बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए । हत्याको आरोपमा यसअघि नौँ जना पक्राउ परेका थिए । 

उनीहरुविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान पूरा गर्दै कैलाली जिल्ला अदालतमा पेश गरिएको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भने, ‘मंसिर १६ गतेको अदालतको आदेशले ८ जना पुर्पक्षका लागि कारागार चलान भईसकेका छन् । एक जना एक लाख ५० हजार धरौटी तिरेर तारेखमा छुटेका छन् ।’ 


Author

थप समाचार
x