सुदूरपश्चिम

सुदूरपश्चिममा दाहाल-नेपाल समूहलाई बहुमत जोगाउन मुस्किल

ओली समूह नयाँ समिकरणमा

नवराज पनेरु |
पुस १५, २०७७ बुधबार ९:५४ बजे

धनगढी : सुदूरपश्चिममा बहुमत जोगाउन नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहलाई मुस्किल हुन थालेको छ । नेकपा बिभाजनको सुरुवाती अवस्थामा दाहाल-नेपाल समूहका मुख्यमन्त्री त्रिलोचन भट्टसँग सुविधाजनक बहुमत रहेको थियो । तर नेकपाका प्रदेशसभा सदस्यहरु समूह फेरबदल गर्ने क्रम बढेसँगै दाहाल-नेपाल समूहलाई बहुमत जोगाउन मुस्किल परेको हो ।

मंगलबार मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेपछि ओली समूह पनि नयाँ समिकरणको कसरतमा जुटेको छ । मन्त्रीबाट बर्खास्त भएपछि बोहराले आफ्नै पद धरापमा परेका मुख्यमन्त्रीले दवाबमा परेर हटाएको प्रतिक्रिया दिएका छन् । ‘मुख्यमन्त्री पनि धरापमै हुनुहुन्छ भनेर बुझ्छु म । अब नयाँ समिकरणका लागि पनि कसरत त अवश्य हुन्छ ।’


५३ सदस्यीय प्रदेश सभामा नेकपाका ३९ जना प्रदेश सभा सदस्य छन् भने नेपाली कांग्रेसका १२ र नेकपाका दुई जना प्रदेशसभा सदस्य रहेका छन् । ओली समूहमा १३ जना प्रदेशसभा सदस्य पुगे सरकार अल्पमतमा पर्ने देखिएपछि दाहाल-नेपाल समूह प्रदेशसभा सदस्यलाई समूह नफेर्न पदको लोभ देखाईरहेको छ । सुविधाजनक बहुमतमा रहेको दाहाल-नेपाल पक्ष बहुमत कायम राख्न असन्तुष्टलाई विभिन्‍न जिम्मेवारी दिएर मनाउने प्रयासमा जुटेको हो ।

‘असन्तुष्टको व्यवस्थापनका लागि मन्त्रीपरिषमा नयाँ नियुक्त गर्ने, मन्त्रालय थप गर्ने र राज्यमन्त्री थप्‍ने तयारी रहेको छ,’ दाहाल-नेपाल समूहका एक मन्त्रीले इकागजर्लाइ भने । मुख्यमन्त्री त्रिलोचन भट्टले भने आफ्नो सरकार सुरक्षित रहेको दावी गरेका छन् । प्रदेश सरकार धरापमा परेको टिप्पणी हुन थालेको अवस्थामा मुख्यमन्त्री भट्टले भने, ‘आफ्नो सरकार सुरक्षित रहेको र कसैले हल्लाउन सक्दैन् ।’

अहिलेसम्म ओली समूहमा ६ जना प्रदेशसभा सदस्य स्पष्ट खुलेर लागेका छन् भने ओली समूहले आफ्नो पक्षमा १३ जना प्रदेशसभा सदस्य रहेको दावी गर्दै आएको छ । ओली समूहका एक जना प्रदेशसभा सदस्यले भने, ‘नेकपाका १३ जना प्रदेशसभा सदस्यले आफ्नो समूहलाई साथ दिए काँग्रेस (१२) र जसपा (२) संग मिलेर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । त्यसपछि कांग्रेस र जसपासंगै मिलेर नयाँ सरकार बनाउँछौ ।’

नेपाली काँग्रेसले पनि नयाँ सरकार गठनका लागि सत्ता साझेदार बन्‍न तयार रहेको प्रतिक्रीया दिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता डाक्टर रणवहादुर रावलले नयाँ सरकार गठनका लागि कांग्रेस सत्ता साझेदार बन्‍नसक्ने बताएका हुन् ।

‘अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा छौ,’ रावलले भने, ‘अहिले नै नयाँ समिकरणमा सहभागी हुने वा नहुने भन्‍ने विषयमा टुङगो लागेको छैन् । तर नयाँ सरकार बनाउँनै परे कांग्रेस सत्ता साझेदार बन्‍न सक्छ ।’ उनले नेकपाका ओली र दाहाल-माधव समूहसंग नयाँ समिकरणबारे छलफल भने भईरहेको स्वीकार गरे । 
 


Author

थप समाचार
x