सुदूरपश्चिम

ओली समूहद्वारा भीम रावलसहितका तीन नेतालाई कारबाही सिफारिस

नवराज पनेरु |
पुस २३, २०७७ बिहीबार १२:८ बजे

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश ईञ्चार्ज भीम रावलसहितका तीन नेतालाई कारबाहीका लागि सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश समितिको बैठकले नेता रावल, नेकपा सुदूरपश्चिमका सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्य र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बैठक बसेको थियो । 

बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता भीम रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको आरोप लगाउँदै कारबाहीको सिफारिस गरेको नेकपा सुदूरपश्चिमले जनाएको छ । यस्तै प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रदेश कमिटी विस्तार गरेर ५५१ सदस्यीय बनाएको हो । यस्तै बैठकले पुस २४ गते धनगढीमा जनसभा गर्ने निर्णयसमेत गरेको छ । उक्त जनसभामा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नेछन् । 


यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश अध्यक्ष कर्ण थापालाई पनि कारवाही गर्न सिफारिस गरेको थियो भने नेकपा कैलालीका अध्यक्ष रतन थापा सहितका नेतामाथि समेत कारवाही गर्न सिफारिस गरेको थियो ।

यसअघि दाहाल-नेपाल समूहले पार्टीका प्रदेश अध्यक्ष कर्ण थापालाई पदबाट हटाउन सिफारिस गर्ने निर्णय गरेको थियाे । ओली समूहमा रहेका थापालाई दाहाल-नेपाल समूहको बहुमत रहेको समितिले हटाउन पार्टी केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय रहेको थियाे । 

याे पनि :

‘भीम रावलले नेकपाको ३० लाख गायब पारे’

 


Author

थप समाचार
x